कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धानलाई हतियार बनाउँछन्: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको धारणा राखे । कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि उनले बताए ।

राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै बजार हल्ला नभएर बास्तविकता रहेको दाबी गरे । महामन्त्री थापाले राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे । महामन्त्री थापाले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिकज्ञलाई दुःख दिने माध्यमको रुपमा काम गरेको आरोप लगाए । उनले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाई हुन्छ भन्ने सुनेको समेत बताए ।

उनले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझाव बमोजिम घर जग्गा,आयात निर्यात,सहकारीको कारोबार आदीबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु