छिमेक पहिलो प्राथमिकताः परराष्ट्रन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताए । नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने बताए । दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो भएको बताए ।

नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बीचको एउटा प्रवेशद्वार भएकोले महत्वपूर्ण रहेको बताए । नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने बताए ।

परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उनले बताए ।

नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रुपमा जाने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तरवृद्धि आवश्यक रहेको बताए ।

सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो । यो गैर–राजनीतिक र गैर–नाफामुखी संस्थाको रूपमा रहेको छ ।


क्लिकमान्डु