बजेटको सिलिङ नबढाए नयाँ काम गर्न सकिँदैनः सचिव शर्मा



फाइल फोटो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडी बढाउन सकिने बताए ।

बजेटको सिलिङ नबढेमा कुनै नयाँ काम अगाडि बढाउन नसकिने भएकाले सरकारको नीति तथा कार्यक्रममा पनि केही नलेखे हुने बताए ।

आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए ।
उनले नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताए । १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरुलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने उनले बताए ।

यति नै बजेटको सिलिङ भएमा पुराना काम मात्रै सक्नेगरी अगाडि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।
अन्यथा बजेटको आकार बढाउनुपर्ने उनको भनाइ छ । उनले बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदहरुले माग गरे अनुरुपको सडक तथा पुलहरु निर्माण गर्न नसकिएको बताए ।

उgले चालु आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताए । उनले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताए ।


क्लिकमान्डु