समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन गरेन, प्रधानमन्त्रीलाई बोलाएर सोधौँ: सांसद श्रेष्ठ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन नगरेकोबारे असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले समितिले दिएका निर्देशन कार्यान्वयन नगरेकोबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने बताए ।

समितिले गरेका निर्णयहरु र दिएका निर्देशन सरकारले किन मानेन भन्नेबारेमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ । समितिले दिएको निर्देशन कार्यान्वयन नभए समितिको औचित्य नरहने उनले बताए ।

‘गुणस्तरमै समस्या छ भन्नुभएको छ । यही डण्डीबाटै पुल, बिल्डिङ, सुरुङ बन्ने जतिपनि पूर्वाधार बन्ने छ, यो गम्भीर कुरा छ । र्‍यापिड स्तरमै छलफल गरेर समितिले निर्देशन दिनुपर्छ । समितिले निर्देशन दिएका कुरा कार्यान्वयन भएको रहेनछ । प्रधानमन्त्रीलाई नै उपस्थित गराएर समितिले गरेका निर्णयहरु हामीले दिएका निर्देशन किन मानेन सरकारले भन्नेकुरा गम्भीर छ । सरकारको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, यसलाई गम्भीर रुपमा लिनुपर्छ । हामीले निरीक्षण किन गरेको, छलफल किन गरेको, किन निर्देशन दिएको यदी कार्यान्वयन नहुने हो भने । हामीले सरकार प्रमुखसँगै सल्लाह गर्नुपर्छ’ उनले भने ।

उनले छडजन्य सामग्रीको गुणस्तर मापनमा बढी जोड दिन आवश्यक रहेको बताए ।


क्लिकमान्डु