राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने



काठमाडौं । नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । साथै बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ ।

मधेस प्रदेशको इन्चार्ज सचिव लिलामणि पोखरेल र सहइन्चार्जको जिम्मवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाएका छन् । त्यस्तै बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ । वागमतीमा सहइन्चार्ज तोकिएको छैन । प्रवक्ता सापकोटाकाअनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सहइन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सहइन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन् । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बनेका छन् भने सहइन्चार्ज तोक्न बाँकी राखिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्ज केन्द्रिय सदस्य बिना मगरलाई बनाइएको छ ।

प्रवक्ता सापकोटाले प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टिबि पाठक तथा प्रवाश प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिए । बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई बनाएको छ ।

माओवादी केन्द्रले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीयदेखि संघीय जनप्रतिनिधिहरु भने आफ्नो निर्वाचित जिम्मेवारीमा नै रहने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

स्थायी कमिटी बैठकले मिटरब्याजी पीडित लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।


क्लिकमान्डु