प्रहरीले संसद भवन छिर्न नदिएपछि पूर्वसभामुख ढुंगाना त्रसितः भन्छन्- पक्राउ परेजस्तो अनुभुति भयो



फाइल तस्बिर

काठमाडौं । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रुपमा बोलाएको थियो ।

कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो । तर ढुंगानालाई कार्यक्रम संसद भवनमा हुने सोचसहित नयाँ बानेश्वर पुगे । नयाँ बानेश्वर पुगेपछि प्रहरीले उनलाई भित्र छिर्न दिएन र त्यो गेटमा जानुस् भनेर फनफनी घुमाएको बताए ।

प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउँदिन भन्ने आफूलाई महसुस भएको उनले बताए ।

अघिल्लो पटक संसद विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको पनि कार्यक्रममा उनले बताए ।

तेस्रो पटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको उनको भनाइ छ ।

सोमवार(हिजो) प्रतिनिधि सभा बैठक चलिरहेको बेलामा लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेर नाराबाजी गरेसँगै संघीय संसद भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद भवन परिसर बाहिरको सडक पेटीमा समेत तारबार गरेर निषेधित क्षेत्र तोकिएको छ ।

कार्यक्रम आयोजक संस्था सभासद मञ्च नेपालकी अध्यक्ष कल्पना धमलाले पूर्वसभामुख जस्तो व्यक्तिलाई समेत संसद भवन नछिर्न गाह्रो परेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले पूर्वसभामुख तथा संविधान सभा सदस्य र सांसदहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताइन् ।


क्लिकमान्डु