भ्रष्टाचार आरोपबारे प्रश्न गर्दा मन्त्री बस्नेत रिसाए, भन्छन्- के को नैतिकता ?



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित भएका छन् ।

सोमबार संसद बैठकपछि सो प्रकरण जिज्ञासा राख्ने सञ्चारकर्मीलाई तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न गरे । पत्रकारहरुले सो प्रकरणमा मुछिएपछि नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने होइन? भनि जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित भए ।

‘के हो नैतिकता ? सुन्नुस्, यो देशमा कानुन छ । ऐन छ । कसैले कसैलाई उजुरी गर्‍यो भन्दैमा, रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित केही पनि नभइकन के हुन्छ नैतिकता तपाईंले सिकाउनु पर्छ ?’ आक्रोशित हुँदै उनले भने ।

‘कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभइकन केको नैतिकता हुन्छ ?’ मन्त्री बस्नेतको आक्रोश थियो । उनले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गरे ।

मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको दाबी गरे । उनले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताए ।

संसारभरी टेरामक्स लागू भएको उनले बताए ।

मन्त्री बस्नेतले यसो भने

कलवाइपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो देशमा मात्रै किन नियन्त्रण भएको छैन ? तपाईहरुले लिडिङ रोल गरिरहनुभएको छ एनसेललाई ढाकछोप गर्नका लागि । उसको फण्डाबाज हो यो ? पहिला सुन्नुस तपाई । यो विषयमा सिआईबीले समेत यति पैसा घोटाला गरेको छ भनेर प्रतिवेदन पेस गरेको छ । नेपालमा हरेक वर्ष कोभिडको एक वर्ष बाहेक उसको ग्राहक बढिराखेको छ । आम्दानी घटिराखेको छ । हुँदा हुँदा कसरी अन्तिम गएर नामसारी गरेको हो, त्यो पनि थाहा छ । तपाईहरु यसको पक्षमा वकालत गरेर बसिरहनुभएको छ । सुन्नुस्, राष्ट्रमा ठगी गर्ने कुरामा जुनबेलासम्म कलवाईबास गरेर खाने कुरामा राज्यले नियन्त्रण गर्दैन ।

म सञ्चारमन्त्री भएर आउँदा रुवेल चौधरीलगायत धेरै मान्छेलाई थुनेर कारबाही गरेको अवस्था थियो । र त्यसलाई नियन्त्रण गर्नुपर्छ, राजश्व उठाउनु पर्छ भनेर भन्ने कुरामा मैले आफ्नो कुरा अगाडि सारिदिएको हो । सहमती दिएको हो । अनि त्यसपछि आएर के कुरा प्रमाण पु¥याएर चाहीँ अगाडि बढाएको छ ? तपाईलाई नेपालको कानूनमा कसैलाई दोषी करार गर्नका लागि भनिदिएमात्रै पुग्छ कि हुनुपर्छ ? त्यसकारण भनिएको अवस्था हो । तपाई जहाँ गएपनि कान्तिपुरले अहिले सुन्नुस्न । दोषी देखियो भने राजीनामा गर्नुपर्छ । अरु कानूनी कारबाही भोग्नुपर्छ ।

सजाय अदालतले तोक्ने हो, मलाई सोध्ने हो ? तपाईलाई यदि याद छ भने धनघढीमा पत्रकार सम्मेलन गरेर मैले आफ्ना कुरा सबै राखेको छु । मैले सबै कुरा भनिदिएको छु । त्यसैले एउटै कुरा दश पटक भन्नुपर्छ भन्ने जरुरी छैन । तपाईलाई पो न्युज छैन र कान्तिपुर, कान्तिपुर भन्या छ । बिहानदेखि बेलुकासम्म एनसेललाई संरक्षण गर्ने न्युज लेखेर बस्नुभएको छ तपाईहरु । वर्षको २० अर्वभन्दा बढी घोटाला गरेको छ भन्ने प्रमाणित भएको छ । अव त्यो घोटाला भएको के गर्दो हो त ? सीआईबीको रिपोर्टमा पनि अर्बौं घोटाला भएको देखाएको छ ।

अनि, संसारभरी सबै ठाउँमा नाफा हुने, नेपालमा मात्रै नोक्सान हुने । अनि यदि टेरामक्स चाहीँ यो कलबाईपास गरेर खानेहरुको बिरुद्धमा आएको नीति होइन भनेर उल्टयाउने हो भने यो नियन्त्रण गर्ने विधि चाहीँ के हो ? सुन्नुस्, म मन्त्री हुँ । मैले बोल्ने मौका पाउँदा म बोल्छु । सुन्नुस्, लामा गफ नगर्नुस् तपाईहरु । मैले यो विषयमा तपाईजस्तै ५५ जना पत्रकारको अगाडि बोलेको छु । घरघरमा आएर म कहाँ दिन्छु ? यसमा मेरो गल्ती छैन । मेरो गल्ती छैन । राष्ट्रको लागि लडेको हुँ । उजुरी हालेका छन् । कसले हाल्न लगाएको हो ? म त्यो पनि भनौला ।

मन्त्री बस्नेतमाथि सो घोटाला प्रकरण आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रतिपक्षीहरु रास्वपा र राप्रपाले मन्त्रीको झण्ड हल्लाउँदै अख्तियारमा भ्रष्टाचारको बयान दिन जाने बस्नेतले राजीनामा दिनु पर्ने माग संसदमा गर्दै आएको छ ।


क्लिकमान्डु