मधेशवादी दल लोसपा फुट्यो, महतोले घोषणा गरे राष्ट्रिय मुक्ति आन्दोलन



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्।

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

महतोले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने ।

महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए । त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनको भनाइ छ।

‘संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस-थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, साम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुस्मन देशका दुस्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भने, ‘तर दुःखद कुरा मधेस-थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो ।’

महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए ।


क्लिकमान्डु