रवि लामिछानेलाई गगन थापाको कटाक्ष: सहकारी ठग्ने, दुई/चार थान नागरिकता राख्नेलाई घर पठाइदिउ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले केही दिनयता संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेको बताएका छन् । एकापट्टी बस्नेले अर्कोपट्टी बस्नेलाई दागी देखाउनका लागि दोहोरी चलिरहेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा थापाले यसका कारण संसदमा मूल विषयमा छायामा परेको बताए ।

अख्तियारले डामेको, छानबिन आयोगले दोषी ठहर गरेको र सरकारी जग्गामा आँखा लगाउने मन्त्रीलाई झण्डा छोपेर घर पठाउनु पर्ने बताउँदै थापाले सहकारी ठगी गर्ने र केही थान नागरिकता राख्नेलाई पनि घर पठाएर अनुसन्धान गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम नलिइ गगन थापाले उनलाई घर राखेर अनुसन्धान गर्न पर्ने र निर्दोष भए फूलमाला लिएर स्वागत गर्ने बताए ।

‘अख्तियारले डामेको आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ दिउँ’ थापाले भने, ‘अनि सहकारी ठग्ने दुइ चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाएर अनुसन्धान गर्न लगाउ । यति गर्न सकिए निर्दोष भए फर्किए आउनु होला फूलमाला लगाएर स्वागत गरौंला दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सके अलिक मजाले मिटर ब्याजका बारेमा, दुधको मूल्य किसानले नपाएको बारेमा एनसेलको प्रतिवेदनका बारेमा जमेर सार्थक छलफल गर्न सकिएला ।’

होइन भने यताकाले उता र उताकाले यता देखाउने जुहारी चलिरहने उनको भनाइ छ ।


क्लिकमान्डु