पशुपतिनाथको हडपिएको जग्गा खोज्न पूर्वसचिव रेग्मीको नेतृत्वमा समिति गठन



काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति गठन गरेको हो ।

मन्त्रालयले आइतबार ५ सदस्यी समिति गठन गरेको हो ।

समितिमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकासकोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकासकोषका सदस्य सचिव राजु केसी रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको छ ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छबी कालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यत्तिले हडप्ने क्रम बढेसंगै खोजीका लागि समिति बनाइएको हो ।

काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्रविकास कोषले काम अगाडि बढाइ सकेको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थालिएको मन्त्रालयले जनाएको छ । पशुपतिनाथको नाममा देशभरनै जग्गाहरु रहेको र यसलाई व्यवस्थित गर्न उच्च स्तरीय समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए ।


क्लिकमान्डु