काठमाडौं । राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरे।
सांसद जगतबहादुर पार्कीले तत्कालीन नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले संसद् विघटन गर्दा व्यवस्थाका बारेमा निराशावादी सोच उत्पन्न भएको टिप्पणी गर्दै वर्तमान सत्ता गठबन्धनको सरकारले संविधानलाई मजबुत बनाउने ऐतिहासिक काम गर्न थालेको दाबी गरे ।
वर्तमान सरकारले सुशासनका काम गर्दै आएको र सिङ्गो राष्ट्रलाई समृद्धितिर लैजान खोजेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनका बेला गरेको प्रतिबद्धता कार्यान्वयन गर्न प्रयत्न गरिरहेको उल्लेख गरे ।
सांसद पार्कीले सरकारले गरेको प्रयासका कारण नै अर्बौंको सार्वजनिक जग्गा सरकारका नाममा आएको उल्लेख गर्दै सरकारले आर्थिक अवस्था सुधारका लागि सङ्कल्प गरेको बताए । साथै उनले सुदूरपश्चिममा विगतमा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट प्राथमिकता नपर्ने गरेको गुनासो गर्दै आगामी बजेटमा प्राथमिकतामा राख्न सरकारसँग मागसमेत गरे ।
सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौंमा आएका बताउँदै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको उल्लेख गरे । उनले बालकुमारी घटनामा निर्दोष युवकको मृत्यु भएको जनाउँदै दोषीलाई कारबाही गर्न माग गरे ।
सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले गैरजिम्मेवार काम गर्ने मन्त्रीको राजीनामा माग गरे । सांसद दाहालले जनतामा निराश बढेको र विदेश पलायन हुने क्रम बढेको सन्दर्भमा समाधानका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरे । उनले नारायन–बुटवल खण्डको सडकको दुर्दशाका बारेमा जानकारी गराउँदै सडक भत्काएर जनतालाई दुःख दिन नहुने धारणा राखे ।
आगामी दिनमा बाटो भत्काउने र बनाउने कामसँगै गर्नुपर्ने उल्लेख गर्दै मिश्रले ठेकेदारलाई त्यही शर्तमा मात्र ठेक्का दिनुपर्ने बताए । उनले मुलुकमा प्रतिगमनकारीले टाउको उठाउन लागेको भन्दै राष्ट्रिय एकताको आवश्यकता औल्याए ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनीको विमानस्थल सञ्चालन हुन नसक्दा जनता पीडित भएको बताउँदै सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले अब आउने बजेटमा स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता राख्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।
सांसद डा विमला राई पौड्यालले केही समय अघिसम्म नेपालमा चिकित्सा शिक्षाको राम्रो छाप रहेको बताउँदै नियमनको लागि ल्याइएका नयाँ मापदण्डले चिकित्सा शिक्षालाई सङ्कुचन गरेको उल्लेख गरिन ।
प्रतिक्रिया