बंगलादेशमा विद्युत निर्यात गर्न आज सम्झौता हुँदै



काठमाडौं । नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्ने विषयमा आज सम्झौता हुने भएको छ ।

विद्युत खरिद-बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणका उच्च पदस्थ कर्मचारी बुधबार नै बंगलादेश गएका छन् ।

विद्युत खरिद बिक्रीदरु कायम गर्नका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली बुधबार नै बंगलादेश गइसकेको छ । आज बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफलपछि विद्युत् खरिद–बिक्रीदर तय गरिने बताइएको छ ।

बंगलादेशले माघ दोस्रो साता ४० मेगावट विद्युत् नेपालसँग किन्नका लागि प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावमा पठाएका विषय आज टुंगो लाग्ने छ ।

अहिले प्राधिकरणले भारतमा प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ) मा विद्युत् बिक्री गर्ने गरेको छ । बंगलादेशमा त्यो भन्दा बढी दरमा पिपिए हुने बताइएको छ । विद्युत् खरिद-बिक्रीदर डलरमा गरिने बताइएको छ । प्रतियुनिट करिब ९ रुपैयाँमा सम्झौता हुुने स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्राधिकरणले आगामी बर्षातको समयबाट नै बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी रहेको छ । नेपालबाट बंगलादेशमा असारदेखि कात्तिकसम्म विद्युत् निर्यात गर्ने तयारी रहेको छ ।

बंगलादेशमा त्रिशूलीबाट २३.२८ मेगावाट र तल्लो मोदीबाट १९.४० मेगावाट विद्युत् बिक्री गर्ने तयारी रहेको छ । त्यसका लागि भारतले समेत स्वीकृती दिइसकेको छ ।


क्लिकमान्डु