काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडको व्यापारमा कमी आएको छ । पछिल्लो समयमा देशमा निर्माण कार्यमा सुस्तता आउँदा मारुतीको व्यापार घटेको हो ।
मारुती सिमेन्ट्सको व्यापार पछिल्लो वर्षहरुमा निरन्तर घट्दो छ । सन् २०२२ को तुलनामा गत वर्ष सन् २०२३ मा कम्पनीको व्यापारमा १४.७४ प्रतिशतले कमी आएको हो ।
कम्पनीले सन् २०२२ मा ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा भने कम्पनीको व्यापार ७३ करोड ४० लाख रुपैयाँले घटेको छ । सन् २०२३ मा कम्पनीको व्यापार ४ अर्ब २४ करोड ३० लाखमा सीमित भएको हो ।
पछिल्ला वर्षहरुमो तथ्यांक हेर्ने हो भने मारुती सिमेन्ट्सको व्यापारमा निरन्तर कमी आएको छ ।
सन् २०१९ मा ७ अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको मारुती सिमेन्ट्सले सन् २०२० मा ५ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कोरोना महामारीका कारण व्यापारमा आएको सुस्तताले सन् २०२१ मा केही गति लिएर ६ अर्ब ८६ करोड ५० लाख रुपैयाँको व्यापार भएको थियो ।
तर, सन् २०२२ बाट भने कम्पनीको व्यापारमा निरन्तर कमी आएको छ । सन् २०२२ मा ४ अर्ब ८७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत वर्ष सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
आर्थिक संकुचन तथा उपभोक्तामा खर्च गर्ने क्षमताको अभावका कारण पछिल्ला समयमा नेपालमा निर्माण क्षेत्रका कामहरु सुस्त गतिमा भइरहेका छन् । यसको असरस्वरुप मारुती सिमेन्ट्सको व्यापारमा पनि कमी आएको छ ।
सन् १९९४ मा सुरु भएको मारुती सिमेन्ट्स लिमिटेड नेपालमा सिमेन्टको उत्पादन तथा क्लिंकरको बिक्रीमा संलग्न रहेको कम्पनी हो । कम्पनीले सन् २००८ मा सिराहाको गोलबजारमा ६ सय टन प्रति दिन क्षमताको क्लिंकर स्टेसन र ५ सय टन क्षमताको ग्राइन्डिंग स्टेसन राखेको थियो, जसको क्षमता हाल बढेर १५ सय टन प्रतिदिन क्लिंकर र २ हजार टन प्रतिदिन ग्राइन्डिंग हुने गरेको छ ।
सँगै कम्पनीले आफूसँग रहेको कारखानाको क्षमतालाई बढाएर ३३ सय टन प्रतिदिनको क्लिकंर उत्पादन र ४ हजार टन प्रतिदिनको ग्राइन्डिंग क्षमतामा विस्तार गरिरहेको छ ।
दुई व्यापारिक समूह राठी ग्रुप र गोयल ग्रुपको लगानीमा रहेको यो कम्पनीले मारुती नाममा ओपिसि सिमेन्टको उत्पादन गरिरहेको छ भने पिपिसि सिमेन्टको उत्पादनमा पनि काम गरिरहेको छ ।
प्रतिक्रिया