कांग्रेस केन्द्रिय सदस्य गणेश लामाले व्यवसायी ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको आरोप



काठमाडौं । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पूर्वगुण्डा नाइके गणेश लामा र उनका सहयोगी सहदेव कक्षपतीले गैरआवसीय नेपाली व्यवसायी ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको आरोप लागेकाे छ ।

खड्काले बुधबार प्रेज विज्ञप्ती जारी गर्दै आफु ८ घन्टा अपहरणमा परेको उल्लेख गरेका हुन् । खड्का अमेरिका निवासी हुन् । उनी क्रिप्टोखेलाडीको रुपमा अमेरिकामा पनि चर्चित छन् ।

नेपालमा भने ग्यापु अनलाईन व्यवसाय सुरु गरेका उनले ट्राभल एजेन्सी एक्सेल ट्रिप, एक्सेल पे लगायतका कम्पनी सञ्चालन गरिरहेका छन् । अपराधिक समुहले आफुसँग २/३ सय करोड रुपैयाँ र क्रिप्टो भएको अनुमान गरेर लुट्नका लागि अपहरण गरेको उनले आरोप लगाएका छन् ।

नेपाल आएको समय पारेर नीजि निवास ललितपुरको आदर्श टोलबाटै खड्कालाई गत माघ २३ गते अपहरण गरेको र ८ घन्टासम्म बन्धक बनाएको विज्ञप्तीमा उल्लेख छ।

अपहरणकारीले आफुबाट २० करोड रुपैयाँ लिनुपर्ने कागज गरेको र २५ लाख रुपैयाँ फिरौती लिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले अपहरणकारी लामा र कक्षपति बिरुद्ध प्रहरीमा माघ २८ मा उपत्यका प्रहरी महाशाखामा उजुरी दिएका थिए । जाहेरी दिएको १० दिन भइसक्दा पनि उजुरी बारे कुनै कारबाही नभएको गुनासो गर्दै खड्काले अपहरणमा संलग्न व्यक्तिहरुलाई पक्राउन गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

खड्का अमेरिका बसेर क्रिप्टोमा लगानी गर्छन् । उनीसँग अपहरणकारीले क्रिप्टो ट्रान्सफर गर्नुपर्ने तथा आफुसँग भएको रकम पनि ट्रान्सफर गर्नुपर्ने सर्त राखेर साथमा भएको मोबाइल र ल्यापटप पनि जफत गरेको बताएका छन् । यद्यपी उनीहरुले ट्रान्सफर भने गर्न नसकेको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । अपहरणकारीले आफुबाट फिरौतीबापत २५ लाख रुपैयाँ लगेको उल्लेख गरेका छन् ।


क्लिकमान्डु