एउटा न्यारोबडी थन्किँदासमेत निगमको मासिक कमाई १ अर्ब २० करोडभन्दा बढी



काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी थन्कँदासमेत गत पुसमा १ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । वायुसेवा निगमले यात्रु सेवा दिएवापत पुस महिनामा १ अर्ब २० करोड ५९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

निगमसँग २ न्यारोबडी र २ वाइडबडी जहाज छन् । तर, निगमले एउटा न्यारोबडी र दुई वटा वाइडबडी मात्र उडाएर १ अर्ब २० करोड आम्दानी गरेको हो । निगमको १५८ सिट क्षमताको एउटा न्यारोवडी ९एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज पछिल्लो ३ महिनाभन्दा लामो समयदेखि ग्राउन्डेड छ । उक्त जहाज हाल इन्जिन परिवर्तन गर्न इजरायल पठाइएको छ ।

निगमले पुसमा १ अर्ब २० करोड आम्दानी गर्दा टिकट बेचेर कमाएको रकम १ अर्ब १४ करोड र कार्गो सेवा वापतको आम्दानी ६ करोड ४७ लाख रुपैयाँ रहेको निगमले जनाएको छ ।

मंसिर र पुस महिनाको तथ्यांकअनुसार निगमले मंसिर र पुस दुई महिनामा १ लाख यात्रु बोकेको छ । निगमले मंसिर र पुस दुई महिनामा १ लाख यात्रु बोक्दा निगमले २ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

निगमले गत पुसमा आन्तरिक उडानबाट गरेको अम्दानी भने ८४ लाख रुपैयाँ मात्रै छ । तरस, मंसिर र पुसमा निगमले आन्तरिक उडानमा जम्मा ३ हजार ६३३ यात्रुलाई सेवा दिएर २ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको पनि जानकारी दिएको छ ।


क्लिकमान्डु