नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी



काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी रहेको छ ।

नागढुंगा आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार टनेलको ‘ब्रेक थ्रु’ हुनका लागि १ प्रतिशत कार्य सम्पन्न गर्न बाँकी रहेको हो ।

आयोजना कुल २ हजार ६८८ मिटर लामो सुरुङ मार्ग बन्दैछ । त्यसमध्ये अहिलेसम्ममा २ हजार ६३३.४० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । त्यसमध्ये अब ५४.६० मिटर सुरुङ खन्न बाँकी छ ।

त्यस्तै, आयोजनाको रेस्क्यू टनेलको कार्य भने सम्पन्न भइसकेको छ । उक्त रेस्क्यू टनेल २ हजार ५५७ मिटरको थियो । उक्त टनेलको भने गत अगस्ट ७ मा सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाले हालसम्ममा ९९ प्रतिशत भौतिक कार्य सम्पन्न गरेको छ । सुरुङमार्गमा तीनवटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल र १ वटा फ्लाईओभार गरी १२ वटा पूर्वाधार संरचना बन्नेछ ।

त्यसमध्ये हालसम्ममा ११ वटा संरचनाको कार्य सम्पन्न भएको छ भने एउटा फ्लाईआभोरको काम भइरहेको छ । फ्लाईओभरको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

सरकारले २०६९ माघमा विभिन्न चरणको सर्वेक्षणको काम सम्पन्न गरेको थियो । सुरुङमार्ग जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ ।

सुरुङमार्गले सडकमार्गको अवस्था सुधार हुने अपेक्षा गरिएको छ । देशका अन्य स्थान तथा प्रमुख सहरसँगको यातायात सम्पर्क भरपर्दो हुने, समय यातायात सञ्चालन खर्चमा बचत हुनाका साथै यात्रासमेत सुरक्षित हुनेछ ।

त्यसमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट ४ अर्ब ८० करोड रुपैयाँ बराबर उपलब्ध गराइएको छ ।

जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको सो ऋणको ब्याजदर शून्य दशमवल शून्य एक प्रतिशत छ । सुरुको १० वर्षपछि मात्रै ब्याज लाग्ने गरी चुक्ता समय ४० वर्ष तोकिएको छ । सुरुङ खन्नका लागि नेपाल सरकार र जापान सरकारबीच २०१७ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो ।


क्लिकमान्डु