रिलायबल इन्डष्ट्रिजले एकै वर्ष गर्‍यो साढे ५३ करोड रुपैयाँको व्यापार



काठमाडौं । रिलायबल इन्डष्ट्रिजले एकै वर्ष साढे ५३ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५३ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२२ मा ९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा ५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार पछिल्लो तीन वर्षको कारोबार हेर्दा हरेक वर्ष व्यापार बढ्दै गएको छ । कम्पनीले सन् २०२३ मा ३ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा ७ प्रतिशतले नाफा कमाएको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तार–जालीका सामग्री उत्पादनसँगै हार्डवेयर सामग्रीको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले बाइन्डिङ र ग्याल्भानाइज्ड वायर विभिन्न साइज, डाइमेन्सनमा उत्पादन गर्दै आएको छ ।

कम्पनीले वार्षिक २० हजार मेट्रिक टन तार–जाली उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले तार–जाली उत्पादन गर्ने उद्योग गत जुलाईबाट सञ्चालनमा ल्याएको थियो । उक्त उद्योग ३५ करोड रुपैयाँ ऋण र बाँकी रकम कम्पनीले लगानी गरेर निर्माण गरेको जनाएको छ ।

कम्पनीले विभिन्न प्रकारका तार उत्पादन गर्न निर्माण गरिएको उद्योग सन् २०२४ को जुलाईसम्ममा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

धीरज अग्रवाल अध्यक्ष रहेको कम्पनील दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएको छ ।


क्लिकमान्डु