६ महिनामा साढे ७ खर्बको आयात, ७५ अर्बको निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ७ खर्बको आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्ममा ७ खर्ब ६८ अर्ब १६ करोड ६६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो ।

नेपालले गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३.०९ प्रतिशतले कम वस्तु तथा सेवा आयात भएको छ ।

चालु आवमा आयात घट्दा निर्यातमा पनि उच्च कमी आएको छ । विभागको तथ्यांक अनुसार चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा ७.२३ प्रतिशतले घटेको छ ।

नेपालले गत आवमा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले ७४ अर्ब ९६ करोड ८१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

विभागअनुसार चालु आवको ६ महिनाको अवधिमा २ खर्ब ९ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ८८ अर्ब १६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष ६.३४ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।


क्लिकमान्डु