निगमको विमान बिग्रिदा काठमाडौं र दोहामा ५३२ यात्रु अलपत्र, उडान कटौती गर्दै



काठमाडौ । नेपाल वायुसेवा निगमको एउटा न्यरोबडी र अर्को एउटा बाइडबी एकैपटक बिग्रिएको छ । निगमको दुईवटा अन्तर्राष्ट्रिय उडानको जहाज थन्किदा यात्रु व्यवस्थापनमा समस्या परेको छ ।

वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाज मध्ये दुईवटा थन्किएको हो । दुईवटा जहाज थन्किएका कारण ५० प्रतिशत उडान कटौती भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनकाअनुसार सोमबार साँझको उडान मंगलबार हुँदैछ । अरु उडान व्यस्थापन मिलाउन निगमले उडान नै कटौती गर्नुपरेको उनले बताए ।

निगमको ९एन–एएलजेड ए३३० सिरिजको एउटा वाइडबडी जहाजमा फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएको छ । जसका कारण यसले उडान गर्न नसक्दा सोमबार साझँको दोहा उडान रद्द भएको हो ।

निगमकाअनुसार सोमबार राति दोहा उड्नुपर्ने यो जहाजको उडान रोकिएको छ, रोकिएका यात्रुलाई आज साँझ ७: ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी भइरहेको छ ।

दुईवटा जहाज एकैपटक ग्राउन्डेड हुँदा उडानहरू ढिलो हुन पुगेको र सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएको निगमको भनाइ छ ।

निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड भएको यो जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकैसाथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो ।

निगमका अनुसार मंगलबार रातिबाट ग्राउन्डेड भएको जहाजको मर्मतको काम जारी छ । यो जहाज उड्न नसक्दा रोकिएका यात्रुलाई मंगलबार विहान २ बजे सुन्धारा, गौशाला र ज्ञानेश्वरमा गरी तीनवटा होटलमा राखिएको छ । ती यात्रुलाई मंगलबार साँझ उडाउने तयारी भएको पनि निगमको भनाइ छ ।

यो जहाज नउडेका कारण काठमाडौंबाट दोहो उड्नुपर्ने २ सय ७६ यात्रु नेपालमा र दोहाबाट काठमाडौं आउनुपर्ने २ सय ५६ यात्रु दोहामा अलपत्र परेका छन् । दुवैतर्फ गरेर ५३२ यात्रु अलपत्र परेका हुन् ।

दोहा उडानमा काठमाडौंबाट उड्ने तयारीमा रहेका २ सय ७६ यात्रुलाई राति होटेलमा राख्नुपरेको थियो । उनीहरूलाई आज मंगलबार साँझको उडानबाट दोहा पठाउने तयारी भएको निगमले जनाएको छ ।


क्लिकमान्डु