सञ्चालनमा आएको पहिलो वर्षमा सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोटले गर्‍यो ५ करोडको कारोबार



काठमाडौं । तायो इको रिसोर्ट होटल प्रालिद्वारा सञ्चालित सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोटले पहिलो वर्षमै ५ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ को जनवरीदेखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो ।

कम्पनीले नगरकोटमा २८ रोपनी क्षेत्रफलमा दुईवटा सुइट रुमको सुविधासहित ४२ कोठा भएको रिसोर्ट सञ्चालन गरिरहेको छ । उक्त रिसोर्ट परम्परागत नेवारी शैली र आधुनिक सुविधाका साथ निर्माण भएको छ ।

सुमिर कंसाकार र पद्मिनी कंसाकरको लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । उक्त रिसोर्ट १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको थियो । जसमा उक्त लागत सुरुमा अनुमानित गरेको तुलनामा २० प्रतिशतले बढेको कम्पनीले जनाएको छ । सुरुमा होटलको अनुमानित लागत १ अर्ब ११ करोड ६० लाख रुपैयाँ थियो ।

कम्पनीअनुसार सञ्चालनमा आएको पहिलो वर्षमा रिसोर्टले ३७ प्रतिशत अकुपेन्सी उपयोग भएको उल्लेख छ । रिसोर्टको प्रतिकोठा निर्माणका लागि ३ करोड ३१ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।


क्लिकमान्डु