पौने २ अर्बमा तयार भयो सरोवर पोर्टिको, चारतारे होटलसहित कम्प्लेक्सको सुविधा



काठमाडौं । वीरगन्जमा पौने २ अर्बमा चारतारे होटलको सुविधासहित व्यावसायिक कम्प्लेक्स तयार भएको छ । स्काइलाइन इन्फ्रा लिमिटेडले १ अर्ब ७७ करोड ५० लाख रुपैयाँ लगानीमा चारतारे होटलसहित व्यावसायिक कम्प्लेक्स तयार भएको हो ।

सन् २०१६ मा स्थापना भएको कम्पनी सन् २०२३ देखि पब्लिक लिमिटेडमा परिणत भएको थियो । कम्पनीले व्यावसायिक कम्प्लेक्स निर्माण गरी विभिन्न सुविधा दिने तयारी गरेको छ ।

कम्पनीले कम्प्लेक्समा हाउजिङ रिटेल स्पेसेस, फुड कोर्ट/गेमिङ जोन, क्यासिनो, ब्याङ्क्वेट हल र मल्टिप्लेक्स थिएटरको सुविधा दिने गरी निर्माण गरेको छ । कम्पनीले यसअघि नै क्यूएफएक्स सिनेमा र चारतारे होटल सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले सन् २०२३ को नोभेम्बरदेखि ६० कोठाको सुविधासहित सरोवर पोर्टिको ब्रान्डमा सञ्चालनमा ल्याएको हो । कम्पनीले १ हजार ५३८ वर्गफिटमा कम्प्लेक्स निर्माण गरेको जनाएको छ । आयोजनामा सात जनाको स्वामित्व छ । कम्पनीले १ अर्ब २७ करोड ८९ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिई कम्प्लेक्स निर्माण गरेको हो ।

सुरुमा कम्पनीले रिटेल स्पेस, क्यासिनो र मल्टिपल थिएटरसहित ५० कोठा सुविधाको चारतारे होटल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । तर, अहिले कम्पनीले ६० कोठाको होटल निर्माण गरी विभिन्न सुविधा दिने भएको छ ।

कम्पनीका अनुसार आयोजनाको लागत अनुमान १० प्रतिशतले बढेको छ । निर्माण कार्यमा ढिलाइ हुँदा लागत बढेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२४ को फेब्रुअरीदेखि सञ्चालनमा ल्याउने तयारी गरेको थियो तर निर्माण ढिला हुँदा सन् २०२४ मा अप्रिलबाट मात्र सञ्चालनमा आउने जनाएको छ ।


क्लिकमान्डु