भारतबाट बिजुली किनेपछि मात्र उद्योगमा जोडिने



काठमाडौं । सरकारले बिजुली काटिएका २४ उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेपाल विद्युत प्राधिकरणले शुक्रबारसम्म उद्योगहरुमा बिजुली जोडेको छैन ।

मन्त्रिपरिषद्ले मंगलबार निर्देशन दिएको भए पनि शुक्रबारसम्म उद्योगहरुमा बिजुली नजोडिएपछि उद्योगीहरुले त्यसको बिरोध गरेका छन् ।

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकमा उद्योगहरुमा बिजुलीको लाइन जोड्ने सरकारको निर्णयबारे जानकारी गराइएको छ । यससँगै बिजुली काटिएका उद्योगहरुमा लाइन जोडिने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईको भनाइ छ ।

‘सरकारको निर्णय बोर्डमा जानकारी गराइएसँगै बिजुली जोड्ने काम आजैबाट हुन्छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने।

तर, भट्टराईले भनेजस्तो उद्योगहरुमा बिजुलीको लाइन जोड्ने काम आजैबाट हुन भने समस्या देखिएको छ । नेपालमा उत्पादन हुने बिजुली भन्दा खपत बढी हुने हुँदा तत्काल उद्योगहरुमा बिजुली जोड्न भारतबाट किन्नुपर्ने हुन्छ ।

नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्चेन्ज(आईईएक्स) मा बिड गरेर बिजुली खरिद गर्नुपर्छ । २४ वटा उद्योगहरुमा बिजुलीको लाइन काटिएपछि अहिले प्राधिकरणले भारतबाट कम परिमाणमा बिजुली खरिद गरिरहेको छ । यदी उद्योगहरुमा लाइन जोड्ने हो भने भारतबाट थप बिजुली किन्नु पर्छ ।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेका २४ उद्योगले करिब २८० मेगावाट बिजुली उपभोग गर्ने अनुमान गरिएको छ । यदी आजैबाट उद्योगहरुमा बिजुली जोड्ने हो भने घरायसी प्रयोगका लागि बिजुली पर्याप्त नहुने र लोडसेडिङ हुने प्राधिकरणका एक सञ्चालक समिति सदस्य बताउँछन् ।

‘यदी बिजुली काटिएका उद्योगमा लाइन जोड्ने हो भने भारतबाट थप बिजुली ल्याउनु पर्छ,’ उनले भने, ‘२४ उद्योगले करिब २८० मेगावाट बिजुली खपत गर्छन् । यदी भारतबाट नकिनी लाइन जोड्न थालियो भने घरायसी प्रयोगमा समस्या आउन थाल्छ ।’

नेपालमा जलाशययुक्त भन्दा नदी प्रवाहमा आधारित जलविद्युत परियोजना भएकाले वर्षामा चाहिनेभन्दा बढी र हिउँदा नदीमा पानीको प्रवाह कम हुँदा बिजुली उत्पादन कम हुन्छ । जसले गर्दा हिँउदको समयमा भारतबाट बिजुली किन्नुको विकल्प प्राधिकरणसँग छैन ।

ति सञ्चालक समिति सदस्य आईईएक्समा पहिला बिड गर्ने र बिजुली आउने सुनिष्चित भएपछि मात्र क्रमश: उद्योगहरुमा बिजुली जोड्दै जानु पर्ने बताउँछन् ।

‘पहिला आईईएक्समा बिडिङ गर्ने र बिजुली आउने सुनिष्चित भएपछि क्रमश: जोड्दै जाने हो भने समस्या देखिँदैन,’ उनले भने, ‘त्यसका लागि आज बिडिङ हुन्छ, यदी आज बिडिङ भयो र बिजुली प्राप्त भयो भने भोलि उद्योगहरुमा बिजुली जोडिन्छ ।’
आज बिडिङ हुन नसके उद्योगहरुमा बिजुली जोड्न केही दिन लाग्न सक्ने उनले बताए ।

प्राधिकरणले पुस ६ गतेदेखि डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै उद्योगहरुमा बिजुलीको लाइन काट्न सुरु गरेको थियो । प्राधिकरणले २४ उद्योगको बिजुली काटेको छ । प्राधिकरणले ६१ उद्योगबाट २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठान बाँकी रहेको दाबी गर्दै आएको छ ।

उद्योगीहरुले भने बिजुली प्रयोग गरेको तथ्यांक टीओडी (टाइम अफ डे) मिटरको डेटा उपलब्ध गराए आफूहरु बक्यौता तिर्न तयार रहेको बताउँदै आएका छन् ।

उद्योगी र प्राधिकरणबीच विवाद बढ्दै गएपछि सरकारले समस्या समाधानका लागि भन्दै जाँचबुझ समिति गठन गरेको छ र समितिको प्रतिवेदन प्राप्त हुनुअघि उद्योगहरुमा काटिएको लाइन जोड्न निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरण ऐनमा नेपाल सरकारले निर्देशन दिन सक्ने व्यवस्था भए अनुसार मन्त्रिपरिषद्ले लाइन जोड्न निर्देशन दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुको बक्यौता रकम जसरी पनि उठाउने बताउँदै आएका थिए । तर, सरकारले समिति गठन गर्दै उद्योगहरुमा तत्काल बिजुली जोड्न निर्देशन दिएपछि कुलमान पछि हटेका हुन् ।

सरकारले लाइन जोड्न निर्देशन दिएपछि प्राधिकरणले नजोडेको भन्दै पीडित उद्योगीहरु आक्रोशित छन् । २०७५ सालदेखि समस्याको रुपमा रहेको विद्युत महसुल विवादलाई अन्त्य गर्ने गरी आयोग बनाउने निर्णय गर्नु सकारात्मक भए पनि त्यसलाई प्राधिकरकणले कार्यान्वयन नगर्नु दुर्भाग्यपूर्ण भएको उनीहरुको भनाइ छ ।


क्लिकमान्डु