विदेशमा रहेका नेपालीले यसरी मनाए दशैं



काठमाडौं । १५ वर्षदेखि अस्ट्रेलियामा बस्दैआएका चितवनका विदुर ढकालले नेपाली चाडबाडहरु मनाउन नेपालीहरुको समूह नै बनाएका छन् । आफू बस्ने टोल नजिकै नेपालीहरुको समूह छ । जसले हरेक चाडबाड वा नेपाली पर्वहरु आएपछि कसरी मनाउने भनेर सल्लाह गर्छन् ।

अघिल्ला वर्षहरुमा झैं यसपटक पनि विदुर र उनका साथीहरु भेला भएर एकै ठाउँमा बसेर टीका लगाउँदै छन् । सबै परिवारहरु भेला भएर टीका लगाउने अनि नयाँ ठाउँ घुम्ने उनीहरुको योजना छ । ‘दशैं त हामी नेपालमा जस्तै मनाउँछौं । टीका बनाउँछौं । जमरा राख्छौं । मासु खान्छौं । हामी यहाँ नेपालकै जस्तो दशैं मनाउँछौं तर जति राम्ररी मनाए पनि आफ्नै देशको जस्तो नहुँदो रहेछ,’ विदुर भन्छन् ।

५ वर्षयता अमेरिका बसोबास गरिरहेका तनहुँका विक्रमबन्धु न्यौपाने पनि सीमित साथीभाइको परिवारसँग बसेर दशैं मनाउँदै छन् । उनीहरु आफैंले टीका र जमरा तयार पारेका छन् । टीका लगाउन भनेर उनीहरुले कामबाट छुट्टी लिएर समय निकालेका छन् ।

अमेरिका बस्ने झापाकी निलिमा प्रसाईं पनि साथीभाइका परिवारहरु कतै घुमघाम गरेर यसपटकको दशैं मनाउँदैछिन् । उनीहरुको दशैं पहिले भन्दा केही फरक भइरहेको छ। प्रसाईं आफ्नोसहित अरु ३ जना साथीभाइका परिवार मिलेर कतै घुमघाम गरेर मिठो परिकार खाएर दशैं मनाउँदै छिन् । तर उनीहरु टीका भने नलगाउने बताउँछिन् ।

तर यसरी मनाउने दशैं नेपालको जस्तो हुन नसक्ने उनको भनाइ छ । प्रसाईंका अनुसार उनीहरु घुमघाम गरेर रमाइलो गरे पनि नेपाल र गाउँघर मिस हुनेछ ।

‘हामी जे चाह्यो त्यही खान पाएका छौं । मासुका अनेक परिकार बनाएर खाँदै रमाइलो गरिरहेका छौं । बार्बिक्यु बनाउँदै छौं । टीका नलगाए पनि खानपान र रमाइलो अवश्य गरिरहेका छौं। तर जति रमाइलो भए पनि नेपाल जस्तो हुन सम्भव छैन । टीका लगाएपछि गाउँघर र आफन्त मिस हुन्छन् भनेर पनि टीका लगाएका छैनौं,’ प्रसाईंले भनिन् ।

प्रसाईंका अनुसार अमेरिकामा उनीहरुले मनाउने दशैं हरेक वर्ष लगभग पार्कमा मनाइने पिक्निक जस्तो हुने गर्छ । प्रसाईंले स्मरण गरिन्, ‘इभेन्ट र जमघटको रुपमा हेर्दा त नेपालको भन्दा भव्य नै हुन्छ । तर आत्मीयताको रुपमा भने त्यस्तो हुन सक्दैन । जे होस् यहाँ हामीले मनाउने दशैं पार्कमा मनाउने पिक्निक जस्तो हुँदैछ ।’

अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, कोरियासहित खाडी मुलुकमा पनि नेपाली समुदायहरुले अचेल दशैंतिहार जस्ता प्रमुख चाडहरु मनाउने गरेका छन् । लगभग नेपालकै जस्तो गरी चाडबाड मनाउने प्रयास गरे पनि ठ्याक्कै नेपालकै जस्तो अनुभव गर्न सम्भव नहुने धेरै आप्रवासीहरु बताउँछन् ।

दशौं लाखको संख्यामा रहेका डायस्पोराका नेपालीहरुले अचेल दशैं तिहार जस्ता चाडबाड बिर्सन भने सकेका छैनन् । ‘जसोतसो हामी सबै नेपाली चाड मनाउने प्रयास गर्छौं । आफ्नो भूमिमा नभए पनि आफ्नो संस्कृति अवलम्वन गर्न त सक्छौं नि,’ विक्रमबन्धु न्यौपाने भन्छन् ।

विशेषगरी अस्ट्रेलिया, अमेरिका र युरोपका कतिपय देशहरुमा भने दशैं तिहार जस्ता चाडबाडको बेला नेपाली फिल्म हेर्ने र कल्चरल इभेन्टमा सहभागी हुने चलन पनि छ । अस्ट्रेलियामा बसोबास गर्ने विदुर भन्छन्, ‘हामी टीका लगाएर दशैं मनाउँछौं । यो अवसरमा नेपाली साथीभाइ मिलेर नेपाली फिल्म हेर्ने तयारी पनि गरेका छौं ।’

विदुर मात्रै हैन । अरु थुप्रै नेपाली युवाहरुले अचेल चाडबाडको बेला कल्चरल इभेन्ट मनाउने गरेका छन् । यसका लागि नेपाली कलाकारहरुलाई पनि निम्ता दिने गर्छन् । पछिल्लो समय यसरी नेपाल आउन नसके पनि विदेशमै नेपाली संस्कृति अनुभव गर्ने गरी डायस्पोरा समुदायले आफ्ना चाडबाड भने बिर्सिएका छैनन् ।

यसका बावजुद कतिपय नेपाली युवाहरुले भने तीब्र काम र व्यस्तताले गर्दा दशैं मनाउने फुर्सद पनि पाएनन् । जापानमा बसोबास गर्ने लमजुङका रामहरि त्रिपाठी र उनकी श्रीमति दशैंको टीकाको दिनमा पनि काममै व्यस्त भए । टीकाको दिनको साँझमा नेपालस्थित परिवारमा आमा र आफन्तहरुलाई फोनसम्म गर्न भ्याएको उनीहरुले बताए ।

‘दिनभर काममै व्यस्त भइयो । हामी दम्पत्तिको कामको समय पनि फरक फरक छ । दिनभर काममै व्यस्त भयौं । नेपालमा रहेका आमा दाजुभाइहरुलाई पनि फोन गर्न राम्ररी समय मिलेन । कामको व्यस्तताले दशैं जस्तो पनि लागेन । व्यस्त भएपछि त चाडबाडको सेलिब्रेसन मुड पनि नहुने रहेछ,’ त्रिपाठीले क्लिकमान्डुसँग भने ।

रामहरिकी श्रीमति सर्मिला पनि दिनभर काममै व्यस्त भइन् । टीकाको दिन अबेरसम्म टोकियोमा काममै थिइन् उनी । रामहरि जस्ता थुप्रै युवाहरु कामको व्यस्तताले दशैंमा गाउँमा फोन गर्नसम्म भ्याए । उनका लागि त कामको व्यस्तताले दशैं तिहार जस्ता चाडबाडहरु वर्षौंदेखि यत्तिकै खल्लो हुने गरेका छन् ।


क्लिकमान्डु