मंसिरमा ४.९५ प्रतिशतले बढ्यो महँगी



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा ४.९५ प्रतिशतले महँगी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान स्थितिको तथ्यांकअनुसार गत वर्षको मंसिरको तुलनामा चालु आर्थिक वर्षमा महँगी ४.९५ प्रतिशतले महँगी बढेको हो ।

गत वर्षको मंसिर महिनामा ७.३८ प्रतिशतले महँगी बढेको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा महँगी ६.७१ प्रतिशतले बढेको छ । जुन अर्थ मन्त्रालयले निर्धारण गरेको सीमाभन्दा केही बढी हो ।

चालु आर्थिक वर्षमा सरकारले ६.५ प्रतिशतले महँगी बढ्ने अनुमान गरेको थियो ।  महँगीको वृद्धिदर कम हुँदै गएकाले चालु आर्थिक वर्षमा सरकारले निर्धारण गरेको सीमाभन्दा महँगी वृद्धिदर कम हुने देखिएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा गत वर्षभन्दा ७.५२ प्रतिशतले, भदौमा ८.१९ प्रतिशत, कात्तिकमा ७.५ प्रतिशत र मंसिरमा ५.३ प्रतिशतले महँगी बढेको थियो ।

मंसिरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप-समूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिकको तुलनामा मंसिरमा तरकारी, फलफूल, मरमसला, चिनीजस्ता वस्तुहरुको मूल्यमा कमी आएकोले महँगी वृद्धिदरकम भएको राष्ट्र बैंकले जनाएको छ ।

घ्यू तथा तेलको मुल्य १३.६६ प्रतिशत, तरकारीको मुल्य ८.३७ प्रतिशत र मासु तथा माछाको मूल्य ०.१३ प्रतिशतले घटेको छ भने मरमसलाको मूल्य ३७.२२ प्रतिशत, फलफूलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको १०.५६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, यातायातको मूल्य २.४८ प्रतिशतले घट्दा मनोरञ्जन तथा संस्कृतिको मूल्य १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको मूल्य ११.०३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०८० मंसिरमा काठमाडौं उपत्यकाको मूल्य ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु