बिदा बस्न नमानेपछि काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी



काठमाडौं । बिदामा बस्न नमानेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ ।

अधिकारीले चढ्ने गरेको गाडी नगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा बुधबार अधिकारीको घरबाट काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखिएको हो ।

यसअघि काठमाडौं महानगरले राष्ट्रिय सभागृहमा भएको अधिकारीको कार्यालयमा ताला लगाइदिएको थियो । तर काठमाडौं प्लाजातर्फ ताला लगाएको थिएन ।

अधिकारीको कामप्रति असन्तुष्ट प्रमुख शाहले कार्यालय नआउन र बिदामा बस्न निर्देशन दिएका थिए । तर, अधिकारीले नमानेपछि बुधबारबाट गाडी खोसिएको महानगर स्रोतले जनाएको छ ।

महानगरले अहिले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई निमित्तको जिम्मेवारी दिएको छ ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपमा काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गरेर प्रमुख शाहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न पुस १६ गते निर्देशन दिएका थिए ।

प्रमुख शाहको सचिवालयले सोमबार प्रमुख प्रशासकीय अधिकृतको राष्ट्रिय सभास्थित कार्यालयमा ताला लगाएको थियो ।


क्लिकमान्डु