नौ वटा जीवन बीमा कम्पनीले गरेनन् समयमा साधारणसभा
काठमाडौं । सञ्चालनमा रहेका ९ वटा बीमा कम्पनीले समयमै साधारणसभा नगर्ने भएका छन् । आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने भए पनि ९ वटा जीवन बीमा कम्पनीले साधारणसभा नगरेका हुन् ।
सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा गर्दा अरु बीमा कम्पनीले साधारणसभा नगरेका हुन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले भने पुस सकिएपछि साधारणसभा गर्ने भएको छ । यो कम्पनीले माघ ११ गते साधारणसभा गर्दैछ ।
सभा नगर्नेमा मेट लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स छन् । यस्तै आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स र सन् नेपाल लाइफ इन्स्योरेन्सले पनि समयमा साधारणसभा नगरेका हुन् ।
कम्पनी ऐन २०६३ अनुसार सञ्चालनमा रहेका पब्लिक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने हुन्छ । यस्ता कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारणसभा र त्यसपछि आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ ।
कानुनअनुसार कम्पनीले साधारणसभा गर्ने समय पुस मसान्तसम्म छ । तर, जीवन बीमातर्फका ९ वटा कम्पनीले अझै साधारणसभा घोषणासमेत गरेका छैनन् ।
यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्सबाहेक अन्यले सेयरधनीलाई लाभांश घोषणासमेत गरेका छैनन् । हिमालयन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले भने लगानीकर्ताको हात रित्तै बनाएका छन् । यी दुवै कम्पनीले साधारणसभा गरे पनि सेयरधनीलाई लाभांश वितरण गरेका छैनन् ।
यस्तै निर्जीवनतर्फ भने साधारणसभा समयमा नगर्नेमा ११ वटा कम्पनी छन् । नेको इन्स्योरेन्स र हिमालयन एभरेष्टले मात्रै साधारणसभा समयमा गरेका छन् ।