सुरु भयो च्याउ महोत्सव, सभामुखले भने- नेपाल परनिर्भरतातर्फ गयो



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन् ।

ललितपुरमा आयोजित राष्ट्रिय च्याउ दिवस तथा च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै आइतवार उनले यस्तो बताएका हुन् । उनले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताए ।

उनले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गरे । उनले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए ।

गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताए ।

उनले भने,‘बितेका १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरुले गरिरहेका प्रगतिहरु, किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझैपनि अभाव छ । जसरी अरु क्षेत्रको अनुसन्धानमा महत्व दिइएको छ, नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्ने कुरामा अझै ध्यान दिन जरुरी छ।’

सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्नेकुरामा ध्यान दिन जरुरी रहेको बताए ।

बृहत च्याउ मेला तथा परिकार महोत्सव आइतबारदेखि सुरु भएको छ । च्याउ उत्पादक किसान संघ नेपालले उक्त महोत्सवको आयोजना गरेको हो । महोत्सव ललितपुरको जावलाखेल खेलमैदानमा आयोजना गरिएको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा च्याउसँग सम्बन्धित ३० वटा स्टल राखिएका छन् ।

च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएको छन । साथै कन्ये, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।


क्लिकमान्डु