बालकुमारी घटना : मृतकको परिवारलाई १०-१० लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई जनाको परिबारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकका परिबारलाई १०- १० हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् ।

उनका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उनको भनाई थियो ।

मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना दोहरिन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय पनि भएको छ । यसका लागि छानबिन समितिको सुझावअनुसार अघि बढ्ने उनको भनाई थियो ।


क्लिकमान्डु