कित्ताकाट गर्न नपाउने व्यवस्थाले लुम्बिनी प्रदेशमा १३.३५ प्रतिशतले घट्यो जग्गाको कारोबार



काठमाडौं । संघीय सरकारले जग्गा वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरेपछि लुम्बिनी प्रदेशमा घरजग्गा कारोबार घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन(लुम्बिनी प्रदेश) वार्षिक प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष घरजग्गा कारोबार १३.२५ प्रतिशतले घटेको जनाइएको छ ।

राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या १३.२५ प्रतिशतले घटेको हो । ‘गत वर्षमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.२५ प्रतिशतले ह्रास भई ९७ हजार १ सय २० कायम भएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा आर्थि वर्ष २०७८/७९ मा १ लाख ११ हजार ९५६ वटा र आव २०७७/७८ मा १ लाख ४ हजार ७६९ वटा घरजग्गाको कारोबार भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा त्यसअघिको वर्षको तुलनामा उक्त सङ्ख्या ६.८६ प्रतिशतले वृद्धि भएको थियो । घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व गत वर्षको सोही अवधिको तुलनामा ३७.६७ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष कारोबार कम भए पनि ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । आव २०७८/७९ मा कारोबार संख्या बढे पनि ३ अर्ब ४० करोड ३१ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो भने आव २०७७/७८ मा ५ अर्ब १० करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘नेपाल सरकारको नीति बमोजिम जग्गा वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था ल्याएको सन्दर्भमा शहरी क्षेत्रका मूल्यवान जग्गाहरुको धेरै खरिद बिक्री भएको कारण घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा ह्रास आएता पनि राजस्व रकममा वृद्धि भएको छ,’ अध्ययनमा उल्लेख छ ।

अघिल्लो वर्ष सोही अवधिमा राजस्व ३३.३६ प्रतिशतले कमी आएको थियो । त्यसैगरी, समीक्षा वर्षमा घर/भवन स्थायी नक्सा पास सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.४४ प्रतिशले ह्रास आई ६ हजार ९ सय ६२ पुगेको छ ।

अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा ८ हजार ४३२ वटा र २०७७/७८ मा ८ हजार ८१७ वटा घर/भवन स्थायी नक्सा पास भएको थियो।

गत वर्षको सोही अवधिमा त्यसअघिको वर्षको तुलनामा ४.६९ प्रतिशतले नक्सा पासमा ह्रास भएको थियो । गत वर्ष घरजग्गा रजिष्ट्रेशन सङ्ख्या कम भए पनि रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व भने अघिल्लो वर्षको तुलनामा ३७.६७ प्रतिशतले वृद्धि भएको छ । लुम्बिनी प्रदेशमा घरजग्गा कारोबारको कुल ग्राहस्थ उत्पादनमा ४.४ प्रतिशत हिस्सा छ ।


क्लिकमान्डु