काभ्रेमा भैँसी सुत्केरी भत्ता र पाडी वितरण कार्यक्रम प्रभावकारी



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैँसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले भैँसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ ।

विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेकी पनौती–११ ख्याकुकी सावित्री थापाले अनुदानमा प्राप्त गरेको पाडी अहिले लैनौ भैँसी छ । त्यतिबेला भैँसी ब्याउँदा नगरपालिकाले उनलाई पाँच हजार सुत्केरी भत्ता पनि उपलब्ध गराएको थियो ।

‘त्यतिबेला अनुदानमा पाएको पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा दुई लाखको दूध बेचेँ’, थापाले भने ।

ख्याकुकै माधव थापाको परिवारमा पनि लैनो भैँसीले खुसी थपेको छ । पनौती नगरपालिकाबाट उहाँले पनि अनुदानमा पाडी प्राप्त गरेका थिए । उक्त पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा एक लाख ८० हजारको दूध बिक्री गरेको थापाले बताए ।

यस्तै पनौती–११ कै शोभा थापाले नगरपालिकाबाट केही वर्ष अघि अनुदानमै प्राप्त गरेको पाडी हाल लैनो भैँसी बनेपछि दूध बिक्रीबाट घर खर्च चलाउँदै आएकी छन् । ‘दैनिक पाँच लिटर दूध बिक्री गर्ने गरेकी छु’, उनले भनिन् ।

पनौती नगरपालिको तीन वर्षको अवधिमा किसानलाई नौ सय १९ पाडी वितरण गरेको कृषि तथा पशुपन्छी शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए । नगरपालिकाले भत्तासँगै खोप र औषधी निःशुल्क वितरण गर्ने गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि भैँसी संरक्षण–सम्वद्र्धन अभियानअन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको हो ।

‘दूध उत्पादन र भैँसीपालनको अवस्थाबारे अध्ययन गरेपछि भैँसी संरक्षण अभियानअन्तर्गत भैँसी सुत्केरी भत्ता वितरण गर्न थालेका हौँ’, शाखा प्रमुख सापकोटाले भने । पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यस पछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको उनले जानकारी दिए । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्यरुपमा पशु बीमा गर्नुपर्ने प्रावधान थियो । नगरपालिकाले भैँसीलाई खोप तथा घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

शाखा प्रमुख सापकोटाका अनुसार पनौती नगरपालिकामा करिब आठ हजार भैँसी रहेका छन् । हाल दैनिक करिब ७५ हजार लिटर दूध उत्पादन भइरहेको छ । यसमध्ये ५० हजार लिटर दूध बिक्रीका लागि काठमाडौं पठाउने गरिएको छ ।


क्लिकमान्डु