भन्सार विभागका महानिर्देशकको आशंका: हिमालयन र फ्लाई दुबईबाट नेपालमा सुन तस्करी



काठमाडौं । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले हिमालयन एयरलाइन्स र फ्लाई दुबईले नेपालमा सुन तस्करी गरिरहेको आशंकामा छानबिन भइरहेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न समयमा सुनसहित व्यक्तिहरु पक्राउ परिरहेको घटनामा हिमालयन र फ्लाई दुबई एयरलाइन्सको संलग्नता देखिएकाले छानबिन भइरहेको उनको भनाइ छ ।

‘१४ किलोसहित विभिन्न समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल हुँदै तस्करी भइरहेको सुनमा हिमालयन र फ्लाई दुबईको संलग्नताको आशंका छ,’ महानिर्देशक पौडेलले क्लिकमान्डुसँग भने, ‘त्यस विषयमा विभागले छानबिन गरिरहेको छ ।’

वैदेशिक रोजगारीका लागि दुबई पुगेका नेपाली नागरिकले हिमालयन एयरलाइन्स र फ्लाई दुबईका केही कर्मचारी सुन तस्करी गरिरहेको गिरोहसँग नजिक रहेको सूचनासमेत भन्सार विभागमा दिएको उनको भनाइ छ ।

दुबईबाट उजुरी आएकै समयमा हिमालयन एयरलाइन्स र फ्लाई दुबईबाट काठमाडौं आएका यात्रुबाटै अवैध सुन बरामद भएको थियो ।

मंसिर २१ गते राति फ्लाई दुबईको विमानमा आएका चन्द्र घलेको साथबाट १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो । शनिबार राति पनि फ्लाई दुबईकै विमानबाट आएका यात्रुको साथबाट ६ किलो ५९० ग्राम सुन बरामद भएको थियो ।

यसबाहेक पनि ५० ग्रामभन्दा बढी सुन ल्याउनेमा हिमालयन र फ्लाई दुबईका यात्रु धेरै हुने गरेकोले ति एयरलाइन्स कम्पनीको संलग्नता हुन सक्ने भएकाले अनुसन्धान भइरहेको उनले बताए । ‘तस्करसँग मिलेमतो गर्ने एयरलाइन्स वा कर्मचारी को हुनसक्छ भनेर हामी पनि अनुसन्धान गरिरहेका छौं’ उनले भने ।

वायुसेवा कम्पनीका केही कर्मचारीले दुबईबाट नेपाल आउने यात्रुलाई सुन दिने गरेको जानकारी ह्वाट्स एपबाट नेपालमा पठाउने र यात्रु काठमाडौं विमानस्थलमा अवतरण भएपछि वायुसेवा कम्पनीकै कर्मचारीले सहजीकरण गर्दै सुन बोकेको यात्रुलाई विमानस्थलबाहिर निकाल्ने गरेको उजुरी विभागमा आएको उनले बताए । उनले ति एयरलाइन्सका कर्मचारीले विमानस्थलभित्र जान मिल्ने पासको दुरुपयोग गरिरहेको आशंका गर्ने आधार भेटिएको बताए ।

‘ति एयरलाइन्स केही कर्मचारीले विमानस्थलभित्र जान मिल्ने पासको दुरुपयोग गरिरहेको आशंका गर्ने आधार भेटिएका छन् । हामी थप अनुसन्धान गरिरहेका छौं’ उनले भने ।


क्लिकमान्डु