त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको दिक्षान्त समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालबाट विद्यार्थीहरू दीक्षित भएका हुन् ।

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका छन् ।

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएको त्रिविले जनाएको छ ।

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने गरिएको छ ।

४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर त्रिविले ‘वर्ल्ड रेकर्ड’ प्रमाणपत्र प्राप्त गरेको छ ।

अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसनले त्रिविलाई भौतिकरुपमा विश्वको सबैभन्दा विद्यार्थी उपस्थित भएर आयोजना गरिएको दिक्षान्तभन्दै ‘वर्ल्ड रेकर्ड’ प्रमाणपत्र प्रदान गरेको छ । २६ हजारभन्दा धेरैको उपस्थित भएर गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

संस्थाले कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर भुसाललाई विश्वरेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ।

अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन युरोपेली संघमा आवद्ध संस्था हो । काउन्सिल अफ द नोटरियाट्स अफ द युरोपियन युनियन (युरोपको नोटरी) द्वारा मान्यता प्राप्त यस संस्थाले विश्व रेकर्ड दर्ता गर्ने गरेको छ ।


क्लिकमान्डु