प्याराग्लाइडिङलाई खुला प्रतिस्पर्धा अस्वीकार्य, सिन्डिकेट गर्न नपाउँदा ६० कम्पनीको उडान बन्द



काठमाडौं । व्यवसायीबीच खुला प्रतिस्पर्धाबाट गर्ने या कम्पनीहरुबीच नै सिन्डिकेट कायम राखिरहने भन्ने विषयमा विवाद बढेपछि दुई दिनदेखि पोखरामा हुने प्याराग्लाइडिङका सबै उडान बन्द भएका छन् । नेपाल हवाई खेलकुद संस्थाले खुला प्रतिस्पर्धाबाट प्याराग्लाइडिङको उडान अवतरण गर्न पाउने र शुल्क लिने निर्णय गरेपछि संस्थामा आबद्ध व्यवसायीबीच विवाद बढेको हो ।

संस्थामा आबद्ध २१ कम्पनी र तिनका पाइलटले स्वतन्त्र रूपमा शुल्क तोकेर हुने उडानको निर्णयमा असहमति जनाएका छन् । पोखरामा भएका ६० कम्पनीमध्ये हाल ५२ वटा कम्पनीले प्याराग्लाडिङ गरिरहेका छन् ।

यी कम्पनीले एकपटकमा ६ वटासम्म प्याराग्लाइड उडान गर्दै आएका छन् । यस्तो उडान अहिले पर्यटकीय सिजन कम भएकाले दैनिक १५० देखि २०० वटासम्म हुन्छ ।

पोखराको मान्द्रेढुंगा र तोरेपानीबाट भइरहेको प्याग्लाइडिङ उडान शनिबारदेखि बन्द छ । संस्थामा आबद्ध कम्पनीहरुबीचमै भएको विवादले उडान सुरक्षामा असर पर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडान बन्द गरिदिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार व्यवसायीबीचको विवादले शनिबार उडान हुन सकेन । प्याराग्लाइडिङ कम्पनी र पाइलटबीच भएको असहमतिले उडान सुरक्षामा असर पर्ने देखिएकाले आइतबारबाट अर्को सूचना जारी नभएसम्म पोखराका सबै प्याराग्लाइडिङको उडानमा रोक लगाएको उनले जानकारी दिए । ‘हवाई खेलकुदको संस्था, सम्बन्धित कम्पनी र पाइलटले सहमति गरेर आएपछि मात्रै उडान खुला हुन्छ,’ उनले भने ।

पोखरामा हाल प्याराग्लाइडिङ उडान गरेबापत प्रतिव्यक्ति १२ हजार रुपैयाँ शुल्क लाग्दै आएको छ । यस्तो शुल्क जुन कम्पनीबाट गरे पनि समान छ । यो शुल्कभन्दा कम दरमा पर्यटकलाई सेवा दिन र प्रतिस्पर्धा गराउन खेलकुद संस्थाले उडान दर प्रतिस्पर्धात्मक बनाउने निर्णय गरेपछि व्यवसायी असन्तुष्ट भएका हुन् ।

संस्थामा आबद्ध केही व्यवसायीले नै खुला प्रतिस्पर्धा नरुचाएको र सिन्डिकेट नै गर्न पाउनुपर्ने माग गरेपछि पर्यटक आकर्षित गर्ने प्रमुख गतिविधि नै बन्न हुन पुगेको छ ।

हवाई खेलकुदको निर्णयमा असन्तुष्टि जनाउँदै कतिपय कम्पनीले संघबाट बाहिरिनेसम्मको चेतावनी दिएका छन् । विवाद मिलाएर पुनः उडान खुलाउन प्रयास भइरहेको संघका अध्यक्ष शुशील भट्टराईले बताए ।

‘हाल प्याराग्लाइडिङको बुकिङ कम्पनीहरुले बाँडफाँट गरेर लिने गरेकोमा अब खुला प्रतिस्पर्धाबाट व्यवसायीले आ–आफैं उडान शुल्क तोक्ने गरी निर्णय भएको छ,’ उनले भने । उक्त निर्णय अस्वीकार गर्ने २१ कम्पनीका कारण विवाद बढेपछि शनिबार प्याराग्लाइडिङ उडान बन्द भयो । आइतबार भने प्राधिकरणको पत्रका कारण उडान गर्न नसकिएको भट्टराईले बताए ।

पोखराको प्याराग्लाइडिङ उडानमा एजेन्सी शुल्क र भ्याट कटाएर हाल पाइलटले ६० प्रतिशत र कम्पनीले ४० प्रतिशत रकम पाउँदै आएका छन् । उडान शुल्कमा १ हजार रुपैयाँ एजेन्सी कमिसन तिर्नुपर्छ । बाँकी ११ हजारमा १३ प्र्रतिशत भ्याट कटाएपछि तोकिएको प्रतिशत पाइलट र सम्बन्धित कम्पनीले पाउँछन् ।

सराङकोटबाट हुने उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मान्द्रेढुंगा र तोरेपानीबाट हुन थालेको हो । उक्त स्थानबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उडान हुने गरेको छ ।


राजु बास्कोटा