मंसिरसम्म भन्सार विभागले उठायो गत वर्षभन्दा ९ अर्ब बढी राजस्व, लक्ष्यभन्दा ३३ प्रतिशत कम



काठमाडौं । भन्सार विभागले मंसिर मसान्तसम्म गत वर्षभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको मंसिर मसान्तसँग तुलना गर्दा चालु आर्थिक वर्षमा ९ अर्ब बढी राजस्व संकलन भएको छ ।

विभागले गत वर्ष मंसिर मसान्तसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षको सोही अवधीमाम १ खर्ब ६६ अर्ब रुपैयाँ संकलन भएको हो ।

गत वर्ष भन्दा बढी राजस्व संकलन गरे पनि विभागले लक्ष्य भन्दा ३३ प्रतिशत कम राजस्व उठाएको छ ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा मंसिर मसान्तसम्म भन्सार विभागले २ खर्ब ५१ अर्ब ७२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो ।

गत वर्षको तुलनामा आयात घटेकाले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन् ।

भन्सार विभागले मंसिर महिनामा पनि गत वर्ष भन्दा ६ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत वर्ष २८ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले चालू आर्थिक वर्षको मंसिर महिनामा ३४ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा ३७ प्रतिशत कम हो ।

विभागले मंसिर महिनामा ५४ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।


क्लिकमान्डु