भारतीय हात्तीको आक्रमणमा परी चार जनाको मृत्यु, तीन जिल्लामा त्रास



झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जंगली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।

झापा, मोरङ र सुनसरी क्षेत्रका जंगलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउ धनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ ।

मेचीनगर नगरपालिका(४ का हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् ।

हिउँद याममा बर्सेनि भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए । उनका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन् ।

‘मकै हात्तीले असाध्यै मन पराउँछ,’ घिमिरेले भने, ‘हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।’ उनले बिहान–बेलुका हिँड्डुल गर्दा र जंगल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन् ।

गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए ।


क्लिकमान्डु