एक अर्ब ३ करोडमा बिक्यो मेस्सीले विश्वकप जित्दा लगाएको जर्सी, म्याराडोनाकोभन्दा सस्तो



एजेन्सी । विश्वचर्चित शीर्ष फुटबल खेलाडी लियोनल मेस्सीले कतार विश्वकपका क्रममा लगाएको अर्जेटिनाको जर्सी उच्च मूल्यमा लिलाम भएको छ ।

मेस्सीले कतार विश्वकपका क्रममा लगाएको ६ जर्सीहरुको सेट ७.८ मिलियन अमेरिकी डलर (करीब १ अर्ब ३ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको हो । बिहीबार उनको जर्सीको सेटलाई लिलामीमार्फत यो मूल्यमा बिक्री गरिएको थियो । न्यूयोर्कमा रहेको लिलामी गर्ने संस्था सोथबीले यसको लिलाम गरेको हो ।

फोर्ब्सकाअनुसार मेस्सीको जर्सी लिलामीबाट बिक्री हुँदा हालसम्मकै महंगोमा बिक्री भएको फुटबल खेलाडीको दोस्रो र समग्रमा तेस्रो जर्सी बनेको छ ।

लिलामीमा बिक्री भएको जर्सीको सेटमा मेस्सीले विश्वकपको खेलका क्रममा पहिलो हाफमा लगाएका सात मध्येका ६ जर्सीहरु रहेका छन् । निलो र सेतो रंग रहेका अर्जेन्टिनाको राष्ट्रिय जर्सीहरु लिलाम भएका हुन् । यीमध्ये एक जर्सी उनले विश्वकप फाइनलमा फ्रान्ससँगको खेलमा लगाएको पनि रहेको छ ।

मेस्सी विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने दोस्रो खेलाडी हुन् । उनको हालको नेटवर्थ १३० मिलियन अमेरिकी डलर रहेको छ ।

सोथबीले माइकल जोर्डनको १९९८ एनबीए फाइनल जर्सीको रेकर्ड मेस्सीको जर्सीले तोड्ने अपेक्षा गरेको थियो । जोर्डनको जर्सी १०.१ मिलियन डलरमा बिक्री भएको थियो ।

त्यस्तै दोस्रो सबैभन्दा महँगो जर्सी अर्जेन्टाइन लेजेण्ड डिएगो म्यारोडनाले सन् १९८६ मा विश्वकप फाइनलमा लगाएको जर्सी बिक्री भएको थियो । ‘ह्याण्ड अफ गड’ गोल जर्सी ९.२८ मिलियन डलरमा सन् २०२२को मेमा बिक्री भएको थियो ।

मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिने सोथबीले जनाएको छ ।


क्लिकमान्डु