मौद्रिक नीतिको समीक्षाले सेयर बजार र घर जग्गाको कारोबार बढेको भन्दै अर्थमन्त्री उत्साहित



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको बताएका छन् ।

मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदै भएको उनको दाबी छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा महतले हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको भन्दै उत्साहित भएका हुन् ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्र्दै सेयर बजारका लागि केही खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने व्यवस्था गरेको छ ।

यसअघि जोखिम भार १५० प्रतिशत रहेको थियो । यस्तै समीक्षाले बैंक दर घटाएको छ । जसले गर्दा बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् । जसले गर्दा पनि सेयर बजार बढ्न थालेको छ ।

आइतबार १११ अंकले बढेको बजार सोमबार लगानीकर्ता नाफा बुक गर्न थाल्दा केही करेक्सन भएको थियो । मंगलबार दोहोरो अंकको सुधार देखिएको बजारमा बुधबार यो समाचार तयार पार्दासम्म बजार बजार ८.३४ अंकले बढेको छ । यो दिन बजारमा निकै उतार चढाब देखिएको छ ।

मन्त्री डा. महतले पछिल्लो समय राष्ट्र बैंकसँग भएको निरन्तरको छलफलबाट मौद्रिक नीतिमा सुधार हुन सकेको दाबी गरेका छन् ।


क्लिकमान्डु