अर्थतन्त्रमा दबाब कायम छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको बताएका हुन् ।
सरकारले लगातार सुधारको प्रयास गरिरहेको भएतापनि अर्थतन्त्र अझै दबाबमा रहेको उनको भनाइ थियो ।
सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समिक्षामार्फत भएका नीतिगत र व्यावहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने भएपनि अर्थतन्त्र अझै दबाबमा रहेको उनले दाबी गरे ।
सरकारले राजनीतिक दलका नेता, निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको पनि उनले दाबी गरे ।
सरकारले निजी क्षेत्रको माग अनुसार नीतिगत सुधार गरेको भन्दै यसबाट निजी क्षेत्र सुखी भएको उनले उल्लेख गरे । राष्ट्र बैंकले नीतिगत रुपमा गरेको सुधारबाट निजी क्षेत्रले सकारात्मक भएपनि देशको अर्थतन्त्र माथिको दबाब कायमै रहेको उनको जिकिर थियो । उनले अर्थतन्त्रको तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिएपनि वास्तविकतामा अर्थतन्त्रमा दबाब अझै रहेको बताए ।
रेमिट्यान्स, राजश्व, विदेशी मुद्राको सञ्चितीमा वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रुपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न समेत नसकेको पनि उनले स्विकारे ।
‘सबैकुरा राम्रा छन् । दक्षिण एसियामा तुलना गर्दा हाम्रो राम्रो अवस्था छ तर अर्थतन्त्र वास्तविक जीवनमा के भएको छ भने हे¥यो भने जनतामा उत्साह र आशा जागेको छैन,’ प्रधानमन्त्री दाहालले भने ।
अर्थतन्त्र सुधारको लागि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत संरचनागत सुधार गर्ने तयारी गरिरहेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए । अर्थतन्त्र सुधारको लागि ठूलो रिफर्मको आवश्यकता रहेको भन्दै सरकार त्यो काम गर्ने तयारीमा रहेको उनले बताए ।