लगानीकर्ताले गरे ‘प्रोफिट बुक’, सेयर बजारमा दोहोरो अंकको गिरावट




काठमाडौं । अल्पकालीन लगानीकर्ताले ‘प्रोफिट बुक’ गरेपछि सोमबार सेयर बजार मापन गर्ने सूचक दोहोरो अंकले घटेको छ । आइतबार बजार १११ अंकले बढेपछि नाफा कमाएकाहरुले सेयर बेच्दा बजारमा गिरावट आएको हो ।

आइतबार तीन पटक सकारात्मक लागेर लगानीकर्तालाई हौस्याएको सेयर बजारले तिनै लगानीकर्तालाई सोमबार भने उत्साहित बनाउन सकेन ।

आइतबार बजारमा १११ अंकको उछाल आएको थियो । सोमबार लगानीकर्ताले त्यसैको मौका छोप्दै प्रोफिट बुक गर्न लाग्दा कारोबार रकम भने ह्वात्तै बढेको छ ।

निकै उतार चढाबकाबिच बजारमा १५.४० अंकको गिरावट देखियो । बजार १५.४० अंकले घट्दा परिसूचक १९४८.५७ बिन्दुमा रोकिएको छ । ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको १५.२३, विकास बैंक ८०.६९, वित्त २२.७०, होटल ७६.१०, जलविद्युत १४.५६, जीवन बीमा ७९.७५, ट्रेडिङ ३१.५७, अन्य समूहको उपसूचक १७.७९ अंकले घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन १३.४३, माइक्रोफाइनान्स १५.४६, निर्जीबन बीमा समूहको उपसूचक १४६.३७ अंकले बढेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, दोल्ती पावर पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु