१० कित्ते नीति हटाउने धितोपत्र बोर्डको तयारी *



काठमाडौं । नेपाल धितोपत्र बोर्डले विद्यमान १० कित्ते नीति पुनरावलोकन गर्न अध्ययन समिति बनाएको छ । गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले १० कित्ते नीति पुनरावलोकन गर्न समिति बनाउने निर्णय गरेको हो ।

बोर्डका प्रवक्ता मुक्तिनाथ प्रधानका अनुसार बोर्ड सदस्य तथा आईक्यानका उपाध्यक्ष प्रविन कुमार झाको संयोजकत्वमा समिति बनेको छ । समितिमा बोर्डका विज्ञ सदस्य भोलानाथ ढुंगानाका साथै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी रहेका छन् ।

समितिले दिएको प्रतिवेदनका आधारमा हाल आईपीओमा रहेको १० कित्ते नीति पुनरावलोकन हुने बोर्डले जनाएको छ । समितिका लागि भने अध्ययन सक्ने समय तोकिएको छैन।

बोर्डले करिब ५ वर्ष अघि १० कित्ता नीति ल्याएकाे थियाे । तर सेयर बजारमा यसका बारेमा विविध धारणा आउन थालेपछि धिताेपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ता नीति हटाउने बताउँदै आएका थिए । त्यसैले बोर्डले आईपीओमा न्यूनतम १० कित्ता दिनैपर्ने नीति हटाउने तयारी गरेको हो ।

समितिले सूचीकृत कम्पनीलाई १० प्रतिशत सेयर आईपीओ निष्काशन गर्न पाउने व्यवस्थामा पनि अध्ययन गरेर पुनरावलोकन गर्ने भएको छ । हाल आईपीओ निष्काशनमा जाने सबै कम्पनीले १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था छ ।

अब सानो कम्पनीको १० प्रतिशतबाट बढ्ने तथा ठूला कम्पनीको यथावत रहन सक्ने स्रोतको भनाइ छ । यसैगरी १० प्रतिशतलाई ३० प्रतिशतसम्म पुर्याउन सकिने व्यवस्था गर्न लागेको बोर्डले बताएको छ ।

*शिर्षक सच्याइएको


क्लिकमान्डु