हिमालयन र फ्लाई दुबईका कर्मचारी सुन तस्करसँग मिलेको आशंका, कारबाही गर्ने भन्सारको चेतावनी



काठमाडौं । हिमालयन एयरलाइन्स र फ्लाई दुबईमा कार्यरत केही कर्मचारी सुन तस्करीमा संलग्न रहेको भन्दै उजुरी परेको छ । वैदेशिक रोजगारीका लागि दुबई पुगेका नेपाली नागरिकले हिमालयन एयरलाइन्स र फ्लाई दुबईका केही कर्मचारी सुन तस्करी गरिरहेको गिरोहसँग नजिक रहेको सूचना भन्सार विभागका दिएका हुन् ।

दुबईबाट उजुरी आएकै समयमा हिमालयन एयरलाइन्स र फ्लाई दुबईबाट काठमाडौं आएका यात्रुबाटै अवैध सुन बरामद भएपछि भन्सार विभागले हिमालयन र फ्लाई दुबईका प्रतिनिधिसँग छलफल गरेको छ ।

मंसिर २१ गते राति फ्लाई दुबईको विमानमा आएका चन्द्र घलेको साथबाट १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो । शनिबार राति पनि फ्लाई दुबईकै विमानबाट आएका यात्रुको साथबाट ६ किलो ५९० ग्राम सुन बरामद भएको थियो ।

यसबाहेक पनि ५० ग्रामभन्दा बढी सुन ल्याउनेमा हिमालयन र फ्लाई दुबईका यात्रु धेरै हुने गरेको भन्सार कार्यालयका कर्मचारी बताउँछन् । आइतबार भन्सार विभागले वायुसेवा कम्पनीका प्रतिनिधिलाई बोलाएर दुबै वायु सेवा कम्पनीमा कार्यरत केही कर्मचारी सुन तस्कारीमा संलग्न रहेको उजुरी परेकाले शंकास्पद गतिविधिमा संलग्न कर्मचारीलाई निगरानीमा राख्न निर्देशन दिएको छ ।

‘हामीले वायुसेवा कम्पनी नै सुन तस्कारीमा छ भन्न खोजेका होइनौं, तपाईंहरुको कम्पनीमा कार्यरत केही कर्मचारी सुन तस्कारी गर्ने गिरोहसँग नजिक छन् भन्ने उजुरी विभागमा आएका छन्,’ विभागका अधिकारीहरुले आइतबार भन्सार विभागमा भएको बैठकमा वायुसेवा कम्पनीका अधिकारीहरुसँग भने, ‘तस्करसँग मिलेमतो गर्ने कर्मचारी को हुनसक्छ भनेर हामी पनि अनुसन्धान गरिरहेका छौं । तपाईंहरु पनि जिम्मेवार भएर अनुसन्धान गर्नु पर्‍यो । कानुनविपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

वायुसेवा कम्पनीका केही कर्मचारीले दुबईबाट नेपाल आउने यात्रुलाई सुन दिने गरेको जानकारी ह्वाट्स एपबाट नेपालमा पठाउने र यात्रु काठमाडौं विमानस्थलमा अवतरण भएपछि वायुसेवा कम्पनीकै कर्मचारीले सहजीकरण गर्दै सुन बोकेको यात्रुलाई विमानस्थलबाहिर निकाल्ने गरेको उजुरी परेपछि विभागमा आएको छ । जसले गर्दा विमानस्थल भन्सार कार्यालयले यात्रुको भन्सार जाँचपासमा कडाइ गरिरहेको छ ।

‘हिमालयन र फ्लाई दुबईबाट आउने यात्रुले सुन ल्याउन थालेपछि हामीले आन्तरिक अनुसन्धान गरेका थियौं,’ विभागका एक अधिकारीले भने, ‘को कर्मचारी सुन तस्करीमा संलग्न छ भन्ने पत्ता लागेको छैन तर केही कर्मचारीले विमानस्थलभित्र जान मिल्ने पासको दुरुपयोग गरिरहेको आशंका गर्ने आधार भेटिएका छन् । हामी थप अनुसन्धान गरिरहेका छौं ।’

दुबई विमानस्थलमा नेपाल आउने अपरिचित व्यक्तिलाई समेत सुन लैजानुहुन्छ, तपाईंलाई २०-३० हजार रुपैयाँ आउँछ भन्दै सोध्ने क्रम बढिरहेको बताइएको छ । अर्थ मन्त्रालयका एक अधिकारीले नेपाल फर्कने क्रममा आफैंलाई दुबई विमानस्थलमा सुन लैजानुहुन्छ भन्दै तस्कारीमा संलग्न गिरोहले सोधेको बताएका छन् ।

‘म ट्राउजर लगाएका हिँडिरहेको थिएँ, एक जना अपरिचत व्यक्ति आएर नेपाल जाँदै हो भनेर सोधे । मैले जाँदै छु भन्दा उनले सिधै ५० ग्राम सुन लैजान अफर गर्दै नेपाल पुगेलगत्तै ५० हजार रुपैयाँ दिन्छु भने,’ ती अधिकारीले भने, ‘खुलेआम सुन लैजानुहुन्छ भन्ने गिरोह देख्दा म अचम्ममा परेको थिएँ । त्यसरी दैनिक कति मान्छेले सुन ल्याउँछन् होला ? म आएको प्लेनमा चढेका कति यात्रुले सुन ल्याएका थिए होलान् ?’

ती अधिकारीका अनुसार दुबईबाट यात्रुले ल्याएको सुन लैजान विमानस्थलबाहिर तस्कर समूहका व्यक्ति कुरेर बसेका हुन्छन् । तस्करहरुले दुबईबाट बिदामा घर फर्कने उपत्यकाबाहिरको मानिसलाई काठमाडौंबाट उनको घर भएको ठाउँसम्म जाने-आउने प्लेन टिकटसमेत दिने गरेको बताइन्छ ।

‘सुन तस्करहरुको सञ्जाल निकै ठूलो छ, प्रहरीलाई समेत उनीहरुले प्रभावमा पारेका हुन्छन्,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयले मात्रै तस्कारी केही कम हुन्छ होला । जबसम्म दुबईबाट ल्याएको सुन विमानस्थलबाहिर दिने र त्यहाँबाट देशभर र भारतमा समेत पुर्‍याउने च्यानल तोड्न सकिँदैन, हामी तस्करी रोक्न सक्दैनौं ।’


शरद ओझा