भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्न सक्ने



काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू गरेको छ ।

बिहीवार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी प्रतिबन्ध नीतिलाई मार्च ३१, २०२४ सम्म लागू हुने अधिकारीहरुले जनाएका छन् । आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरुले बताएका छन् ।

भारतले प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालमा प्याजको मूल्यमा वृद्धि हुने सम्भावना बढेको छ । भारतबाट ठूलो मात्रामा वर्षेनी नेपालसँगै बंगलादेश, मलेसिया, श्रीलंकालका देशमा प्याजको निर्यात हुँदै आएको छ ।

निर्णय लागू हुनासाथ शुक्रबार सुनौली सीमामा प्याज बोकेका सात ट्रकलाई रोकिएको छ । अहिले भारतमा प्याजको खुद्रा मूल्य ६० भारतीय रुपैयाँ प्रतिकिलो रहेको छ । नेपाली बजारमा भने भारत सरकारले प्याजको निर्यात बन्द गर्नुअघि नै अभाव देखिएको थियो ।

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमासमेत भ्याट लगाएको आरोप लगाउँदै मंगलबार साँझदेखि उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री बितरणमा रोक लगाएका छन् ।

उपत्यकामा मात्रै एक दिनमा १ सय टनको हाराहारीमा आलु र प्याजको कारोबार हुन्छ । बजारमा आलु र प्याजको आपूर्ति र कारोबार नहुँदा बुधबार मूल्य पनि एक्कासी बढेको छ ।

सोमबारसम्म प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको आलुको मूल्य बुधबार ६० पुगेको छ । यस्तै ९० रुपैयाँ प्रतिकिलोमा पाइने प्याजको मूल्य बढेर १ सय ४० पुगेको छ ।

भारत सरकारले गत अप्रिलदेखि जुन महिनासम्म मात्रै १९८ मिलियन अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको थियो । भारतले सन् २०१९–२० मा ४४० मिलियन डलर बराबरको प्याज निर्यात हुने अनुमान गरिएको थियो ।


क्लिकमान्डु