बचतकर्तालाई अन्याय हुँदैन, तत्कालीन सरकारले टावरमा लगानी गर्दा समस्या: अर्थमन्त्री
नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्ने क्रममा मंगलबार मन्त्री महतले ऋण तिर्दिन भन्नु समस्याको समाधान नभएको बताए ।
‘यो बचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । वचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन,’ उनले भने ।
सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएको र तिर्न कठिनाइ भएको उनले बताए । ‘त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो,’ अर्थमन्त्रीले भने ।
नेपालको अर्थतन्त्र बिग्रियो, शिथिल भयो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता रहेको उनले बताए ।
‘अवश्य पनि केही समययता नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो, तत्कालीन सरकारले सीमित साधन स्रोत ठेक्कामुखी टावरमा लगानी गरे, राष्ट्र बैंकले अथाह पुँजी प्रवाह गर्यो, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्यो,’ मन्त्री महतले भने, ‘कहाँ लगानी गर्ने ? प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए । घरजग्गामा अत्यधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो । सेयर बजारमा लगानी भयो । कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेछन् । ती लगानीको प्रतिफल आइरहेको छैन । माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ ।’
थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको उनले बताए । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, मागअनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगै राजस्व पनि तीन गुणा बढ्छ,’ उनले भने ।
राजस्वबारे आफू एकदमै चिन्तित रहेको महतले बताए । ‘परिवारमा जति धेरै आम्दानी भयो, त्यति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि ठूलो परिवार हो,’ महतले भने, ‘देशलाई पनि आम्दानी हुने स्रोतको आवश्यकता छ । सरकारले जति धेरै आम्दानी गर्छ, त्यति नै पूर्वाधारमा लगानी गर्न सक्छ । यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’
सरकारले फ्याक्ट्री चलाएर नहुने उनको भनाइ छ । निजी क्षेत्र र उद्यमशील नागरिकले नै फ्याक्ट्री चलाउनुपर्ने उनले बताए । ‘सरकारले प्रतिस्पर्धा सुनिश्चित गर्छ, गुणस्तर जाँच गर्छ । एउटैले आधिपत्य जमाएको छ भने सरकारले हेर्छ । यस्तो परिवेशमा धेरै लगानी आउँछ, लगानी आएपछि रोजगारी बढ्छ । रोजगारी बढेपछि आम्दानी बढ्छ, आम्दानी बढेपछि राज्यको राजस्व बढ्छ । राजस्व बढ्यो भने शिक्षा, स्वास्थ्यलगायत हाम्रा आवश्यकताअनुसारको पूर्वाधार विकासमा सरकारले बढी लगानी गर्न सक्छ,’ उनले भने ।
निजी क्षेत्रले सडक बनाउन नसक्ने र निजी क्षेत्र आम्दानीका लागि ५० वर्ष पर्खिन नसक्ने उनले बताए । ‘निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसाधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि स्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने स्रोत बनाउन सकिन्छ । यो सिद्धान्तमा नेपाली कांग्रेस र यो गठबन्धन सरकार चलेको छ,’ मन्त्री महतले भने ।