राष्ट्रिय व्यापार संघद्वारा भूकम्प पिडितलाई न्यानो कपडा वितरण
काठमाडौं । साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले रुकुम पश्चिम तथा जाजरकोटका भूकम्प पिडितहरुलाई १० लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनलाई संघका अध्यक्षसहित पदाधिकारीहरुले उक्त न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।
गत कार्तिक १७ गते रूकुम पश्चिम र जाजरकोटमा गएको विनासकारि भूकम्पमा परि घरपरिवार विहिन भएका परिवारहरूका लागि राहत जुटाउन राष्ट्रिय व्यापार संघले अभियान नै सुरू गरेर राहत सामाग्री संकलन गरेको थियो । न्युरोड क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरूलाई मध्यनजर गर्दै संघले आफुसङ भएको लत्ताकपडा वा नगद जिन्सी सहयोग गर्न आग्रह गर्दै व्यवसायीहरुबाट राहत संकलन गरेको थियो । उक्त संकलन भएको राहत सामाग्री अर्थात् न्यानो लत्ताकपडा आजै वडाध्यक्ष महर्जनलाई संघले हस्तान्तरण गरेको हो ।
विपतको समयमा सबै क्षेत्रबाट सानोतिनो भएपनि राहत संकलन गरि पिडित परिवार सम्म पु¥याउनु सबैको कर्तव्य भएको बताउँदै वडाध्यक्ष महर्जनले संघले गरेको कार्यप्रति खुशी व्यक्त गरे । संघले व्यापारीहरु व्यापार मात्र गर्ने नभएर सामाजिक कार्यमा उत्तिकै सक्रिय छ भन्ने राम्रो उदाहरण दिएको भन्दै आगामी दिनहरुमा पनि यस्ता आपत् विपत्का कार्यमा सदैव सक्रिय रहन आग्रह गरे ।
त्यस्तै संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले सम्पुर्ण व्यापारीहरुको तर्फबाट भूकम्प पिडितको पिडामा थोरै भएपनि मल्हम लगाउन पाउँदा आनन्द महशुस भएको बताए । भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति भएको र त्यहाँ धेरै सहयोगको आवश्यकता रहेकोले अन्य संघसस्थाहरुले पनि सहयोग गर्न आवश्यक रहेको उनले बताए ।
भूकम्प, बाढीपहिरो, कारोना जस्ता महामारीमा पनि सहयोग गर्दै आएको जनाउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा आईपर्ने विपत्तिहरुमा पनि संघ सक्रिय भएर लाग्ने समेत प्रतिद्धता जनाए ।
संघले पठाएको राहत सही समयमा सही व्यक्ति सम्म पुग्ने अपेक्षासहित अध्यक्ष श्रेष्ठले भूकम्पमा परी निधन भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरे । साथै घाइतेहरुलाई उपचारमा कुनै कमी हुन नदिन,घरबार बिहिनहरुलाई तत्काल घरबासको व्यवस्था गर्न संघले सरकारको ध्यानाकार्षण गराएको महासचिब बैकुण्ठ दाहालले जानकारी दिए ।