विश्व बैंकबाट २ करोड अमेरिकी डलर अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय



काठमाडौं । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अनुदान सहायत स्वीकार गर्नेसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराएकी हुन् ।

सरकारले शिक्षा क्षेत्रको विकासका लागि स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने २ करोड अमेरिकी डलर अर्थात् २ अर्ब ६६ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई खटाउने भएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भएबमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताइन् ।

मन्त्रिपरिषद्ले राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्जाल तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै सांस्कृतिक संस्थानको सञ्चालक समितिको अध्यक्षमा हतुवागढी गापा-२, भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने निर्णय भएको छ भने विद्युतीय सुशासन आयोगको सदस्यमा पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु