नागरिक उड्डयन प्राधिकरणको सदस्यमा अच्युतराज पहाडी नियुक्त
काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्यमा वायुसेवा निगमका पूर्वइन्जिनियर अच्युतराज पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पहाडीलाई प्राधिकरणको सदस्य नियुक्त गरेको हो ।
प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरले दिएको राजीनामा स्वीकृति गरी पहाडीलाई नियुक्त गरिएको हो । पहाडी यसअघि वायुसेवा निगमको इन्जिनियरिङ विभागका निर्देशक थिए ।
पहाडीसँग वायुसेवा निगममा एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरको रुपमा ३७ वर्ष काम गरेको अनुभव छ । यसअघि पहाडी वायुसेवा निगमको सञ्चालक समिति सदस्य थिए । उनलाई हवाई क्षेत्रका विज्ञको रूपमा समेत सरकारले विभिन्न समयमा जिम्मेवारी दिने गरेको छ ।