न्युनतम मूल्यमा दूध खरिद गर्न सरकारद्वारा निर्देशन



काठमाडौं । सरकारले दूधको हकमा तोकिएको न्युनतम खरिद मूल्यमा किसानबाट दूध खरिद गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले सबै सरोकारवाला निकायको सहयोगमा चार युनिट फ्याट र ८ युनिट एसएनएफ भएको प्रति लिटर कच्चा दूधको हकमा ६५ रुपैयाँ किसानको मूल्य तोकेको छ । यहि मूल्यमा उद्योगी र व्यापारीलाई किसानबाट दूध खरिद गर्न बोर्डले निर्देशन दिएको हो ।

बोर्डका कायम मुकायम उपकार्यकारी निर्देशक डा. बालक चौधरीका अनुसार २०७९ फागुन १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले यो मूल्य निर्धारण गरेको हो । जसअनुसार प्रति युनिट फ्याटलाई ७ रुपैयाँ १५ पैसा र प्रति युनिट एसएनएफलाई ४ रुपैयाँ ५५ पैसाको दरले कच्चा दूध प्रतिलिटरलाई ६५ रुपैयाँ तोकिएको हो ।

पछिल्लो समयमा सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमा किसानबाट दूध खरिद गरी बजारमा महँगोमा दूध बिक्री गर्दैआएको गुनासोको आधारमा बोर्डले आइतबार यो निर्देशन जारी गरेको हो । बोर्डले किसानबाट दूध खरिद गर्ने उद्योगी व्यवसायीलाई १५ / १५ दिनमा दूध खरिद वापतको रकम भुत्तानी गर्न पनि डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनसँग आवद्ध सम्पूर्ण डेरी उद्योगीलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु