‘कोप-२८ मा नेपालले जलवायु परिवर्तनको असरको क्षतिपूर्तिमा जोड दिनुपर्छ’
काठमाडौं । जलवायु परिवर्तनले पारेको प्रभाव स्वरुप नेपालले पाउनुपर्ने क्षतिपुर्तिको सम्बन्धमा कोप–२८ मा नेपालले दह्रो ढंगले कुरा राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
आईतवार दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको ‘जलवायु परिवर्तन लक्षित नीति तथा योजनाहरुको तर्जुमा र कार्यान्वयनको सवालमा सांसदहरुको भुमिका तथा सरोकारवालाहरुको योगदान’ विषयक परामर्श बैठकमा बोल्दै सांसदहरुले क्षतिपूर्तिको विषयमा जोड दिएका हुन् ।
उनीहरुले जलवायु परिवर्तनको असर नेपालमा कुन रुपमा परिरहेको छ सो स्थितिको आँकलन गर्दै सोही अनुरुप क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मिना तामाङले सबैभन्दा पहिले नेपालको स्थितिको बारेमा नेपाल स्पष्ट हुनुपर्ने बताइन् । कोप–२८ मा नेपालले ठोस र मुर्त रुपमा कुरा राख्नुपर्ने उनको भनाइ छ ।
पुरस्कार अथवा क्षतिपुर्ति के लिने हो भन्दै प्रश्न गर्दै उनले दह्रो रुपले नेपाल प्रस्तुत हुनुपर्ने बताइन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य विना तामाङले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा जनचेतना जघाउने काम गर्नुपर्ने बताइन् । उनले जलवायु परिवर्तनको कारणले विभिन्न प्रकोपहरु गइरहेका र त्यसले मानसिक अवस्था समेत कमजोर हुँदै गइरहेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताइन् ।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले जलवायु परिवर्तनले ल्याएका असरहरुका कारण गरिबहरु बढी प्रभावित भइरहेका बताए । गरिब जनताहरु मारमा परेको भए पनि पहुँचवाला मान्छेको पक्षमा बहश र छलफल हुने गरेको भन्दै प्रभावितहरुको पक्षमा छलफल गर्नुपर्ने उनले बताए ।
प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सरकारले ल्याउने नीतिमा जलवायु परिवर्तन र दिागे विकास लक्ष्यको सम्बन्धमा ध्यान नदिइएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । उनले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै संकटमा पर्न लागेको भन्दै मानव अधिकारको कुरालाई जोडदार ढंगले उठाउनुपर्ने बताए ।