एभरेष्ट बैंकले काठमाडौंको टोखामा खोल्यो नयाँ शाखा, देशभर १२८ कार्यालय
काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको टोखामा नयाँ शाखा स्थापना गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा सहरका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यका साथ शुक्रबार टोखा नगरपालिका-६ मा १२८औं शाखा स्थापना गरेको जनाएको छ ।
उक्त शाखाको बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, बागमती प्रदेश प्रमुख सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको बताए । उनले नयाँ शाखाबाट टोखा र सो आसपासका बासिन्दालाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।
टोखा नगरपालिकाका उपप्रमुख तामाङले टोखामा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताइन् । यससँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हाल करिब १३ लाखभन्दा बढी ग्राहक छन् । देशभरका १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।