तरलता अधिक भएपछि राष्ट्र बैंकले बजारबाट उठायो १० अर्ब रुपैयाँ



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ उठाएको छ ।
निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम भए पनि राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन गरेको हो ।

पछिल्लो ३ महिनादेखि अन्तर बैंक ब्याजदर ४.५ प्रतिशतभन्दा कम हुँदा समेत राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन नगर्दा आलोचना भएको थियो ।

ब्याजदर करिडोर सम्बन्धी कार्यविधिअनुसार अन्तर बैंक ब्याजदर बैंक दरभन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नु पर्ने र निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम भएको अवस्थामा निक्षेप संकलन गर्नु पर्छ ।

राष्ट्र बैंककाअनुसार मंसिर ४ गते एक बैंकले अर्को बैंकलाई कर्जा दिन प्रयोग हुने अन्तर बैंक ब्याजदर २.५३ प्रतिशत थियो । यस्तै, निक्षेप संकलन दर ४.५ प्रतिशत छ । जसले गर्दा राष्ट्र बैंकलाई बजारबाट निक्षेप संकलन गर्न दबाव थियो ।

बुधबार राष्ट्र बैंकले बोलकबोल विधिबाट २.१७ प्रतिशत देखि १.९६ प्रतिशत ब्याजदरमा ७ दिन अवधिको लागि निक्षेप संकलन गरेको हो ।

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न प्रस्ताव आह्वान गरे पनि १२ बैंकहरुले ३७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा निक्षेप राख्ने प्रस्ताव पेस गरेका थिए ।

चालु आर्थिक वर्षमा पहिलो पटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दे बाणिज्य बैंकबाट १० अर्ब रुपैयाँ उठाएको हो।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्ने गर्छ।

यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ ।

बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न विधि ब्याजदर करिडोर विधि प्रयोगमा ल्याइएको थियो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गति गर्ने गर्दछ ।

अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको व्यवस्था गरिएको थियो ।


क्लिकमान्डु